काठमाडाैँ । मुगुको रारा राष्ट्रिय निकुञ्जभित्र रहेको डाँफे होटलमा आगलागी भएको छ । छायानाथ रारा नगरपालिका-९ रारा तालनजिक रहेको डाँफे होटलमा आगलागी हुँदा होटलका पाँच वटा घरटहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी इन्स्पेक्टर अच्युतराज आचार्यले जानकारी दिए । ढुंगामाटोले बनेको र जस्तापाताले छाएको दुई तले घर र बाँकी काठले बनेको र जस्ताले छाएको चार वटा टहरा जलेर नष्ट भएको उनले बताए।
आगलागी गएराति १ बजेतिर भएको थियो। सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएर ३:५५ बजे आगलागी पूर्ण नियन्त्रणमा लिएका थिए । होटलमा रहेका पाहुनाहरू आगलागी भएको थाहा पाएपछि होटलबाट बाहिरिएका थिए भने केहीलाई उद्धार गरिएको थियो। उनीहरू नजिकै रहेका अरू होटलहरूमा राखिएको इन्स्पेक्टर आचार्यले जानकारी दिए । मुगुका सिडिओ र प्रहरी प्रमुख घटनास्थलतर्फ प्रस्थान गरेको उनले बताए । होटल पूर्वसांसद गोपाल बमको हो।