हुलाकमार्फत लाइसेन्स वितरण सुरु, घरमै सेवा पुर्‍याउने तयारी

काठमाडौं — हुलाक सेवा विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देशभरका यातायात कार्यालयसम्म पठाउने काम सुरु गरेको छ। यो प्रक्रिया चैत २६ गतेदेखि लागू गरिएको हो। विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार यसअघि इम्बोस्ड नम्बर प्लेट वितरणका लागि गरिएको सम्झौताकै आधारमा अहिले लाइसेन्स पठाउने काम अघि बढाइएको हो।

उनले जानकारी दिँदै भनिन् कि चैत २६ गते प्राप्त लाइसेन्स भोलिपल्ट झापा पठाइएको थियो, जसलाई आइतबार कार्यालय खुलेपछि मात्रै सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको थियो। त्यसपछि थप लाइसेन्सहरू सुनसरी, डडेलधुरा, डोटी लगायतका जिल्लामा पनि पठाइसकिएको छ।

हालका लागि लाइसेन्स वितरणमा नयाँ सम्झौता नभए पनि पुरानै सम्झौताका आधारमा विभागले उपलब्ध गराएको ठेगानामा पठाउने कार्य भइरहेको छ। साथै, सेवाग्राहीले फाराम भर्दा नै आफ्नो ठेगाना उल्लेख गर्ने व्यवस्था गरी भविष्यमा घरमै वा नजिकको हुलाक कार्यालयमार्फत सेवा पुर्‍याउने प्रणाली विकास गर्ने विषयमा पनि छलफल भइरहेको छ।

यदि यस्तो प्रणाली कार्यान्वयनमा आयो भने देशभरका ७५३ वटै स्थानीय तहमा रहेका हुलाक कार्यालयमार्फत नागरिकलाई घरदैलोमै सेवा दिन सकिने अपेक्षा गरिएको छ। हाल यातायात व्यवस्था विभागअन्तर्गत ४२ वटा कार्यालय सञ्चालनमा रहेका छन्, जहाँ छापिएका लाइसेन्सहरू पठाइँदै छन्।

सरकारको सय बुँदे कार्ययोजनाअनुसार हुलाकमार्फत लाइसेन्स, नागरिकता र पासपोर्ट घरसम्म पुर्‍याउने योजना अघि बढाइएको हो। यसैबीच, सुरक्षण मुद्रण केन्द्रले दैनिक ४० हजारको दरले लाइसेन्स छपाइ गरिरहेको छ, जसलाई वैशाख १२ भित्र पूरा गर्ने लक्ष्य राखिएको छ।

बाँकी १७ लाख लाइसेन्स छपाइका लागि पनि केन्द्रसँग थप सम्झौता गरिएको छ, जसअनुसार असार महिनाभित्र सबै काम सम्पन्न गर्ने दाबी गरिएको छ। साथै, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रयोगात्मक परीक्षा पास गरेपछि २४ घण्टाभित्रै लाइसेन्स छपाइ गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार