बागमतीमा पहिलो चार महिनामा ११ अर्ब ५९ करोड राजस्व संकलन

काठमाडौँ – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७ दशमलव १८ प्रतिशत अर्थात् ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व संकलन गरेको छ ।

घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य स्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट आव २०८२/८३ मा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व संकलन हुने अनुमान गरिएकोमा साउनदेखि कात्तिकसम्ममा लक्ष्यको २२ दशमलव ४५ प्रतिशत अर्थात् ६ अर्ब ९३ करोड ६४ लाख ४६ हजार राजस्व संकलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए ।

चालु आव २०८२/८३ मा घरजग्गा रजिस्ट्रेसन शीर्षकबाट ७ अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकमा चारमा त्यसको करिब १६ दशमलव ७ प्रतिशत अर्थात् रु एक अर्ब २३ करोड ७० लाख ३५ हजार राजस्व संकलन भएको छ ।

यस्तै, प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२/८३ मा ८ अर्ब २५ करोड अनुमान गरिएकोमा कात्तिक महिनासम्म २८ दशमलव २ प्रतिशत अर्थात् २ अर्ब ३१ करोड १८ लाख ४२ हजार राजस्व संकलन गरेको छ ।

प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत ८ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकोमा सो अवधिसम्ममा २ अर्ब ४९ करोड ५५ लाख ३५ हजार संकलन भएको छ भने अन्तःशुल्क करबापत ४ अर्ब ३ करोड ७९ लाख ९ हजार प्राप्त हुने अनुमान गरिएकोमा ८४ करोड ३६ लाख २१ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार