कोकाकोलालाई थप २.८० अर्ब लाभकर, कर दायित्व पुग्यो १५ अर्ब ६० करोड 

काठमाडौं । नेपालमा कोकाकोलालगायत पेय पदार्थ उत्पादन गरिरहेको बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडलाई ठूला करदाता कार्यालयले थप दुई अर्ब ८० करोड रुपैयाँ लाभकर लगाएको छ ।

ठूला करदाता कार्यालयले २०७१ (सन् २०१४) मा कोकाकोलामा बहुमत स्वामित्व किनबेच सम्बन्धी लाभकर बोटलर्स नेपाल तराईलाई पनि लगाएको हो । यसअघि कम्पनीको स्वामित्व किनबेच प्रकरणमा माउ कम्पनी बोटलर्स नेपाल लिमिटेडलाई कर कार्यालयले १२ अर्ब ८० करोड रुपैयाँ लाभकर लगाएको छ ।

कर कार्यालय र बोटलर्स नेपालको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । बोटलर्स तराईलाई थप लाभकर लगाएपछि कर दायित्व बढेर १५ अर्ब ६० करोड रुपैयाँ पुगेको रेटिङका लागि सार्वजनिक गरेको विवरणमा कम्पनीले उल्लेख गरेको छ ।

बोटलर्स नेपाल तराईले ठूला करदाता कार्यालयलाई ७८ करोड ६ लाख रुपैयाँ कर बुझाएको जानकारी दिएको छ । कम्पनीले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कर बुझाएको जानकारी गराएको हो ।

बोटलर्स नेपालमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर २०७१ कात्तिक ७ मा आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा लाभकर छलेको दाबी कार्यालयको छ ।

बोटलर्ससँग सम्बन्धित कोकाकोला कम्पनीको स्वामित्व विदेशमै खरिद–बिक्री (अफसोर ट्रेडिङ) गरेर नेपालमा कर छली गरिएको भेटिएको दाबी कार्यालयको छ । विदेशी स्वामित्वको सेयर विदेशमै किनबेच गर्दा नेपालको आयकर ऐन, २०५८ अनुसार २५ प्रतिशत पुँजीगत लाभकर लाग्छ ।

कोकाकोला साब्को र युरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदाको समय वोटलर्स नेपालको सेयरको बजार मूल्य कित्ताको ती हजार ८८३ हुने र कोकाकोला साब्कोको प्रतिकित्ता सेयर खरिद मूल्य ५३६ घटाउँदा हुन आउने तीन हजार ३४७ रुपैयाँ पुँजीगत लाभकर हुने दाबी कर कार्यालयको छ ।

बोटलर्स कारोबार भएको मूल्यमा लाभकर लगाउनु पर्ने जिकिर गर्दै आएको छ । सन् २०१४ मा बहुमत स्वामित्व परिवर्तनसँग सम्बन्धित विवादित कर दायित्वमा थपिने भएको छ ।

कम्पनीले कर अधिकारीहरूले गरेको दावीहरूको प्रतिरोध गरिरहेको बेला समग्र कर दावी, कम्पनीको खुदसम्पत्ति (नेट वर्थ) तथा वार्षिक सञ्चालन नाफाको तुलनामा उच्च रहेको बोटलर्स नेपालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार