मुस्ताङ — सन् २०२६ को पहिलो चार महिनामै मुस्ताङमा विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ। यस अवधिमा कुल ८३ हजार १४९ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको सोही समयको तुलनामा उल्लेख्य वृद्धि हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका अनुसार जनवरी महिनामा १० हजार ८०३, फेब्रुअरीमा ९ हजार ४, मार्चमा २३ हजार २०४ र अप्रिलमा सबैभन्दा बढी ४० हजार १३८ पर्यटक मुस्ताङ पुगेका छन्।
यसको तुलनामा, सन् २०२५ को यही अवधिमा जम्मा ५१ हजार ८९६ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। त्यस वर्ष जनवरीमा ४ हजार ३४६, फेब्रुअरीमा ५ हजार ३०३, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ पर्यटक आएका थिए।
तथ्यांकअनुसार, २०२५ को पहिलो चार महिनाको तुलनामा २०२६ मा ३१ हजार २५३ पर्यटकले वृद्धि भएको देखिन्छ। यहाँ आउने विदेशीमध्ये ८० प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेका छन्।
मुस्ताङ भ्रमणमा आउने धेरैजसो पर्यटकले मुक्तिनाथ दर्शनलाई मुख्य गन्तव्य बनाउने गरेका छन्। साथै, पोखरा–जोमसोम हवाईमार्ग र स्थलमार्ग प्रयोग गरी आउने तेस्रो मुलुकका पर्यटकहरू जोमसोम हुँदै उपल्लो मुस्ताङतर्फ अघि बढ्ने गरेका छन्, एक्यापले जनाएको छ।