ट्रम्पको धम्कीले दिनदिनै आकाशिँदैछ सुनको भाउ, अर्को ठूलो उलटफेरको जोखिम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड कब्जा गर्ने प्रस्तावको विरोध गरेका आठ युरोपेली देशहरूमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने धम्की दिएपछि सोमबार लगानीकर्ताहरू सतर्क बनेका छन्। यसैकारण सेयर बजार घट्दा सुन र चाँदीको मूल्य भने ऐतिहासिक उच्च विन्दुमा पुगेको छ।

सोमबार सुनको मूल्य प्रतिऔंस ४,६८९.३९ अमेरिकी डलर (करिब ३,४९९ पाउन्ड) सम्म पुगेको थियो भने चाँदीको मूल्य प्रतिऔंस ९४.०८ डलरको उच्च विन्दुमा पुगेको छ। अनिश्चितताको समयमा सुन र चाँदीलाई सुरक्षित लगानीको रूपमा हेर्ने गरिन्छ । पछिल्लो एक वर्षमा यी दुवै धातुको मूल्य तीव्ररूपमा बढेको छ। तर, पछिल्लो भू–राजनीतिक तनाव बढेपछि युरोपेली सेयर बजार भने ओरालो लागेको छ।

शनिबार ट्रम्पले डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्याण्डबाट आयात हुने वस्तुहरूमा १० प्रतिशत ट्यारिफ फेब्रुअरी १ देखि लागू हुने घोषणा गरेका थिए। उनले आवश्यक परेमा यो दर २५ प्रतिशतसम्म बढ्न सक्ने र ग्रीनल्यान्डसम्बन्धी सम्झौता नहुँदासम्म लागू रहने बताएका छन् । यसको प्रतिक्रियामा युरोपेली संघ (ईयू) ले अमेरिकी आयातमा ९३ अर्ब युरो (करिब ८० अर्ब पाउन्ड) बराबरको ट्यारिफ प्याकेज लगाउनेबारे विचार गरिरहेको समाचारहरू आएका छन्।

ग्रीनल्यान्डसम्बन्धी विवादले लगानीकर्तालाई फेरि सुरक्षित लगानीतर्फ धकेलेपछि सुन र चाँदीको मूल्य थप बढेको हो । गत वर्ष मात्रै सुनको मूल्य ६० प्रतिशतभन्दा बढी ले बढेको थियो। यसको मुख्य कारण विश्वव्यापी तनाव, आर्थिक अनिश्चितता, ब्याजदर कटौतीको अपेक्षा, केन्द्रीय बैंकहरूले सयौँ टन सुन सञ्चित गर्नु तथा चाँदीका हकमा चीनले यसको निर्यातमा प्रतिबन्ध घोषणा गर्नु रहेका छन्।

वेल्थ क्लबकी प्रमुख लगानी रणनीतिकार सुजाना स्ट्रिटरले भनिन् “सुनले आफ्नो चम्किलो यात्रामा नयाँ कीर्तिमानी मूल्य छोएको छ। अमेरिकाको आक्रामक व्यापार र भू–राजनीतिक नीतिको असरबारे चिन्ता बढेसँगै सुरक्षित सम्पत्तिको रूपमा सुन अझ आकर्षक बनेको छ।” तर सुन र चाँदीको मूल्य उकालो लागिरहँदा सेयर बजार भने दबाबमा परेको छ।

बेलायतको एफटीएसई १०० सूचकांक झण्डै ०.४ प्रतिशत ले घटेर बन्द भयो भने घरेलु कम्पनीहरूको हिस्सा बढी रहेको एफटीएसई २५० सूचकांक ०.९ प्रतिशत ले घट्यो। धेरैजसो वित्तीय र औद्योगिक कम्पनीका सेयर घटे पनि सुन उत्खनन कम्पनी फ्रेसेनिलो र एन्डेभरका सेयर भने सुनको मूल्य बढेसँगै उकालो लागे । युरोपभर कार उत्पादक, प्रविधि तथा विलासी सामान उत्पादन गर्ने कम्पनीका सेयरमा तीव्र गिरावट देखियो । जर्मनीमा ड्याक्स सूचकांक १.३ प्रतिशत ले घट्यो। बीएमडब्ल्यू, मर्सिडिज–बेन्ज र फक्सवागनजस्ता कार कम्पनीका सेयर २ देखि ३ प्रतिशत ले घटे।

फ्रान्समा क्याक ४० सूचकांक १.८ प्रतिशत ले तल झर्‍यो, जहाँ एलभीएमएच र हर्मेसजस्ता विलासी ब्रान्डका सेयर पनि घाटामा परे। तर युरोपेली रक्षा कम्पनीका सेयर भने बढेका छन्। जर्मनीको राइनमेटल र फ्रान्सको थेल्स कम्पनीका सेयर उकालो लागेका छन्। अमेरिकामा भने सार्वजनिक बिदा परेकाले सोमबार सेयर बजार बन्द रहेको छ।

एजे बेलकी वित्तीय विश्लेषण प्रमुख ड्यानी हेव्सनका अनुसार “युरोप र अमेरिकाबीच लामो समयदेखि वार्तामा रहेको व्यापार सम्झौता अब असफल हुन सक्ने आशंकाले युरोपेली सेयर बजारमा ठूलो गिरावट आएको हो।” यद्यपि, अमेरिकी सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन प्रयोग गरेर ट्यारिफ लगाउनु ट्रम्पको अधिकार क्षेत्रभित्र पर्छ कि पर्दैन भन्ने विषयमा निर्णय गर्न लागेको छ। यो फैसला मंगलबारसम्म आउन सक्ने बताइएको छ।

यदि अदालतले ती ट्यारिफ खारेज गरिदियो भने “फेरि अर्को ठूलो उलटफेर हुन सक्छ,” हेव्सनले बताइन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को पछिल्लो अनुदानअनुसार व्यापार तनाव विश्व अर्थतन्त्रको वृद्धिका लागि प्रमुख जोखिममध्ये एक हो। पछिल्लो ट्यारिफ धम्की आउनुअघि तयार पारिएको विश्व आर्थिक दृष्टिकोण प्रतिवेदनमा आईएमएफले विश्व अर्थतन्त्रलाई “स्थिर” भनेको भए पनि, एआई बूमको अन्त्य र व्यापार तनाव चर्किनु प्रमुख जोखिमका रूपमा औँल्याएको छ। बीबीसीबाट अनुवादित

प्रतिक्रिया
सम्बन्धित समाचार