काठमाडौं । सन् २०२५ मा चीनले विश्वकै अहिलेसम्मको सबैभन्दा ठूलो व्यापार बचत (ट्रेड सरप्लस) कायम गरेको छ। यससँगै, विश्वको सबैभन्दा ठूलो उत्पादनकर्ता मुलुक चीनले अमेरिकाको व्यापारिक दबाबलाई चुनौती दिँदै अन्य अन्तर्राष्ट्रिय बजारतर्फ निर्यात बढाएको वर्षको रूपमा यो वर्ष चित्रित भएको छ ।
चीनको व्यापार बचत — अर्थात् आयातको तुलनामा निर्यात कति बढी भयो भन्ने सूचक — सन् २०२५ मा कीर्तिमानी १.२ ट्रिलियन अमेरिकी डलर पुगेको छ। यो सन् २०२४ को तुलनामा २० प्रतिशतले बढी हो। यस अवधिमा चिनियाँ कम्पनीहरूले अमेरिकी उपभोक्तामाथिको निर्भरता घटाउँदै दक्षिण–पूर्वी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाजस्ता उदीयमान बजारतर्फ निर्यात केन्द्रित गरेका छन्।
ऐतिहासिकरूपमा चीनको सबैभन्दा ठूलो एकल बजार रहँदै आएको अमेरिकातर्फको निर्यात भने सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा १९.५ प्रतिशतले घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धका बाबजुद चीनले देखाएको लचिलोपनलाई देशभित्र विजयका रूपमा व्याख्या गरिए पनि, विश्वव्यापी रूपमा भने यो विशाल व्यापार बचतले सस्ता चिनियाँ वस्तुहरूका कारण आफ्ना बजार प्रभावित हुने डरमा रहेका मुलुकहरूबीच व्यापारिक तनाव थप चर्काउने जोखिम रहेको छ।
अधिकारीहरूले विद्युतीय सवारीसाधनजस्ता प्रमुख क्षेत्रको बलियो व्यापार प्रदर्शनलाई अमेरिकी बजारमा निर्यात घटे पनि चीनको आर्थिक सहनशीलताको संकेतका रूपमा प्रस्तुत गरेका छन्। गत वर्ष विश्वका दुई ठूला अर्थतन्त्रबीच पारस्परिक भन्सार शुल्क वृद्धि हुँदै व्यापारिक टकराव चलेको थियो। “जटिल र चुनौतीपूर्ण बाह्य वातावरणका बाबजुद चीन अगाडि बढिरह्यो,” भन्सार प्रशासनका उपप्रशासक वाङ जुनले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।
उच्च प्रविधियुक्त वस्तु — जसमा उच्चस्तरीय मेसिन उपकरण र औद्योगिक रोबोट समावेश छन् — को निर्यात वार्षिक रूपमा १३ प्रतिशतले बढेको छ। त्यस्तै, विद्युतीय सवारीसाधन, लिथियम ब्याट्री र फोटोभोल्टाइक (सौर्य प्यानल) जस्ता वस्तुको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ। अमेरिका र चीनले एक–अर्काका वस्तुमा भन्सार शुल्क बढाउँदा निर्यात घट्ने अपेक्षा गरिए पनि, चीनले आफ्ना उत्पादनहरू विश्वका अन्य बजारमा अझ गहिरोसँग प्रवेश गराएको छ। यो रणनीति ट्रम्पको पहिलो कार्यकालको व्यापार युद्धताका चिनियाँ कम्पनीहरूले विकास गरेका उपायहरूको निरन्तरता हो।
अमेरिकाबाहेकका क्षेत्रतर्फ चीनको निर्यात उल्लेखनीय रूपमा बढेको छ। अफ्रिकातर्फ निर्यात २६.५ प्रतिशत, दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) तर्फ १४ प्रतिशत, युरोपेली सङ्घतर्फ ९ प्रतिशत र ल्याटिन अमेरिकातर्फ ८ प्रतिशतले वृद्धि भएको छ। यसले विश्वका प्रमुख व्यापारिक साझेदारहरूसँग घर्षण बढाएको छ। ती मुलुकहरूले चीनका कथित अनुचित व्यापार अभ्यास र सस्ता चिनियाँ वस्तुहरूको बाढीले आफ्ना घरेलु उद्योग, रोजगारी र आर्थिक सुरक्षामा नकारात्मक असर पारिरहेको गुनासो गरेका छन्। हालै बेइजिङ भ्रमणका क्रममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले चीनसँगको बढ्दो व्यापार असन्तुलन दीर्घकालीन रूपमा अस्थिर हुने बताएका थिए। उनले युरोपेली नीतिनिर्माताहरूको धारणा दोहोर्याउँदै चीनलाई आन्तरिक उपभोग बढाउन र अत्यधिक निर्यात नियन्त्रण गर्न आग्रह गरेका छन्।
तर गत वर्षभरि बलियो निर्यात कायम रहेकाले चीनलाई अमेरिकासँग लामो समयसम्म चलेको व्यापार वार्तामा आत्मविश्वासका साथ उभिन मद्दत पुगेको थियो। अक्टोबरमा राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको भेटपछि दुवै पक्षबीच सम्झौता भई चिनियाँ वस्तुमा लाग्ने नयाँ भन्सार शुल्क घटाएर २० प्रतिशतमा सीमित गरिएको थियो। यसअघि ती शुल्क केही समयका लागि १४५ प्रतिशतसम्म पुगेका थिए । यद्यपि सो सम्झौता हालसम्म कायम रहे पनि, राष्ट्रपति ट्रम्पले सोमबार इरानसँग व्यापार गर्ने मुलुकहरूलाई थप २५ प्रतिशत भन्सार शुल्क लगाइने घोषणा गरेका छन्। यसले इरानका लागि प्रमुख आर्थिक सहारा मानिने चीनमाथि पुनः उच्च शुल्क लाग्न सक्ने अवस्था सिर्जना गर्न सक्छ।
ट्रम्प प्रशासनले चीनमाथिको निर्भरता घटाउने र अमेरिकी उत्पादनलाई स्वदेशमै पुनःस्थापित गर्ने नीतिलाई प्राथमिकता दिएकाले आगामी दिनमा दुई देशबीच थप व्यापारिक तनाव आउने तयारी निर्यातकर्ताहरूले गरिरहेका छन्। विश्लेषकहरूले भने आगामी वर्ष चीनले बाँकी विश्वमा हालकै स्तरको निर्यात कायम राख्न सक्छ कि सक्दैन भन्ने विषयमा प्रश्न उठाएका छन्, विशेषगरी विभिन्न मुलुकहरूले चिनियाँ ‘औद्योगिक अति–उत्पादन’ बाट आफ्ना घरेलु बजार जोगाउने उपाय खोजिरहेका सन्दर्भमा।
चीनको आर्थिक वृद्धिमा निर्यातप्रतिको निर्भरता आन्तरिक चुनौतीसँग पनि गाँसिएको छ। मुलुकको अर्थतन्त्र दीर्घकालीन सम्पत्ति (रियल इस्टेट) संकटका कारण दबाबमा परेको छ। सरकारले आन्तरिक उपभोग बढाउने र घरेलु तथा अन्तर्राष्ट्रिय माग दुवैबाट सञ्चालित उत्पादन–आधारित अर्थतन्त्रको लक्ष्य हासिल गर्न अझै संघर्ष गरिरहेको छ। सीएनएनबाट अनुवादित