काठमाडौं । ताइवानका आधारभूत संरचनाहरू जस्तै अस्पताल र बैंकमा चीनका साइबर आक्रमणहरू सन् २०२५ मा ६ प्रतिशतले बढेका छन् ।
ताइवानको राष्ट्रिय सुरक्षा ब्यूरोका अनुसार, ताइवानका आधारभूत संरचनाहरूमाथि दैनिक औसत २६ लाख साइबर आक्रमणहरू भएका छन् । ऊर्जा संरचना, आपतकालीन उद्धार प्रणाली र अस्पतालहरूमाथि हुने साइबर आक्रमणहरूमा सबैभन्दा धेरै वृद्धि भएको तथ्यांक छ ।
ब्यूरोले आफ्नो रिपोर्टमा चीनको साइबर सेनाले राजनीतिक र सैन्य गतिविधिहरूसँग तालमेल मिलाएर यी साइबर आक्रमणहरू गरेको भनेको छ ।
रिपोर्टमा उदाहरण दिँदै चीनले ४० पटक ताइवाननजिक सैन्य विमान र जहाजहरू पठाएर संयुक्त युद्ध तयारी गस्ती गरेको थियो । यीमध्ये २३ अवसरहरूमा साइबर आक्रमणहरू पनि बढेको उल्लेख छ ।
रिपोर्टमा यसले ताइवानका महत्वपूर्ण आधारभूत संरचनाहरूलाई क्षति पुर्याउने चिनियाँ प्रयासहरूलाई देखाउने उल्लेख छ ।
ताइवानले चीनमाथि हाइब्रिड युद्ध गरेको पनि आरोप लगाएको छ । यस अन्तर्गत, द्वीपनजिक सैन्य अभ्यास गरिन्छन्, दुष्प्रचार अभियान चलाइन्छ र साइबर आक्रमणहरू गरिन्छन् । यद्यपि, चीन साइबर आक्रमणका आरोपहरूलाई अस्वीकार गर्छ ।
ताइवान एउटा स्वशासित द्वीप हो र आफूलाई स्वतन्त्र राष्ट्र ठान्छ । अर्कोतर्फ, चीन यसलाई आफ्नो हिस्सा ठान्छ र बल प्रयोग गरेर आफूमै गाभ्ने धम्की दिँदै आएको छ ।
विश्वमा१२ देशहरू बाँकी छन् जसले ताइवानलाई देशको रूपमा मान्यता दिन्छन् । यीमध्ये ग्वाटेमाला, पराग्वे, एस्वातिनी, पलाउ र मार्शल आइल्यान्ड्सजस्ता साना–साना देशहरू छन् । सीएनएन