ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको ‘धम्की’ ! 

काठमाडौं । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले डोनाल्ड ट्रम्पलाई ग्रिनल्यान्ड कब्जा गर्ने धम्की दिने काम बन्द गर्न भनेको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री फ्रेडरिकसेनले अमेरिकालाई ग्रिनल्यान्ड कब्जा गर्न आवश्यकताबारे कुरा गर्नु अर्थहीन भएको बताइन् । उनले भनिन्, “अमेरिकालाई डेनिस राज्यका तीन राष्ट्रमध्ये कुनै पनि कब्जा गर्ने अधिकार छैन ।”

उनको यो टिप्पणी ट्रम्पका सहयोगी स्टेफन मिलरकी पत्नी केटी मिलरले एक्समा अमेरिकी झन्डाको रङमा ‘चाँडै’ शब्द लेखेर ग्रिनल्यान्डको नक्सा सामाजिक सञ्जालमा पोस्ट गरेपछि आएको हो ।

ट्रम्पले ग्रिनल्यान्डको रणनीतिक स्थान र खनिज सम्पदाका कारण यसलाई अमेरिकी कब्जाको हिस्सा बनाउने सम्भावनालाई बारम्बार उठाएका छन् र फ्रेडरिकसेनका टिप्पणीपछि आफ्ना दाबी पुनः दोहोर्‍याएका छन् ।

डेनिस सरकारको वेबसाइटमा पोस्ट गरिएको उनको बयानमा फ्रेडरिकसेनले अमेरिकालाई प्रत्यक्ष रूपमा सम्बोधन गरेको बताइन् ।

उनले डेनमार्क र ग्रिनल्यान्ड दुवै नेटो सदस्य भएको र गठबन्धनको सुरक्षा ग्यारेन्टीले समेटिएको उल्लेख गर्दै, डेनमार्कसँग पहिल्यै अमेरिकासँग रक्षा सम्झौता भएकाले ग्रिनल्यान्डमा पहुँच दिइएको उनले बताएकी छन् ।

डेनमार्कले अहिले आर्कटिक क्षेत्रमा सुरक्षामा लगानी बढाएको छ ।

“त्यसैले म अमेरिकालाई ऐतिहासिक रूपमा नजिकको सहयोगीविरुद्ध र अर्को देश तथा अर्को जनताविरुद्ध धम्की बन्द गर्न अनुरोध गर्छु,” उनले भनेकी छिन् ।

उनको पोस्ट गरेको केही घण्टापछि एयर फोर्स वन विमानमा पत्रकारसँग बोल्दै ट्रम्पले यो लक्ष्य पुनः दोहोर्‍याए । “राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट हामीलाई ग्रिनल्यान्ड चाहिन्छ र डेनमार्कले यसो गर्न सक्दैन,” उनले भनेका छन् ।

५७ हजार जनसंख्या भएको ग्रिनल्यान्डमा सन् १९७९ देखि विस्तृत स्वायत्त शासन छ । यद्यपि रक्षा र विदेश नीति डेनमार्कको हातमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार