काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले आक्रमणको गरेको बताएका छन् । उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरिएको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, “अमेरिकाले भेनेजुएला र त्यसका नेता राष्ट्रपति निकोलस मादुरोविरुद्ध सफलतापूर्वक ठूलोस्तरको आक्रमण गरेको छ । उनलाई उनकी पत्नीसँगै पक्राउ गरी देशबाट बाहिर लगिएको छ ।”
ट्रम्पले अगाडि लेखेका छन्, “यो अपरेसन अमेरिकी कानुन कार्यान्वयन निकायसँग मिलेर गरिएको थियो । यसको जानकारी चाँडै दिइनेछ । आज बिहान ११ बजे मार–ए–लागोमा पत्रकार सम्मेलन हुनेछ ।”
आक्रमणपश्चात् भेनेजुएलामा आपत्काल घोषणा गरिएको छ । साथै, मादुरोले एक वक्तव्यमा अमेरिकी सैन्य आक्रमकताको निन्दा गरेका छन् ।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले देशका राष्ट्रपति जीवित भएको प्रमाण मागेकी छन् । मादुरो कहाँ छन् भन्ने हालसम्म कुनै जानकारी छैन ।
अमेरिकी अधिकारीले सीबीएस न्युजलाई मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको बताएका छन् । डेल्टा फोर्स अमेरिकी सेनाको आतंकवादविरोधी सबैभन्दा ठूलो इकाइ हो ।
अर्कोतर्फ, भेनेजुएलाकी उपराष्ट्रपति रोड्रिगेजले सरकारलाई राष्ट्रपति मादुरो वा ‘फरस्ट लेडी’ सिलिया फ्लोरेसबारे कुनै जानकारी नभएको बताएकी छन् । उनले सरकारले दुवैजना जीवित भएको तत्काल प्रमाण माग गरेकी छन् ।
भेनेजुएलाले के भन्यो ?
आक्रमणबारे अझै पर्याप्त जानकारी सार्वजनिक गरिएको छैन । उक्त आक्रमणमा सैन्य पूर्वाधारमा कति क्षति पुग्यो र मानिस हताहत भए/नभएको भन्ने स्पष्ट छैन ।
भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पैड्रिनो लोपेजका अनुसार, सरकारले मृतक र घाइतेबारे जानकारी संकलन गरिरहेको छ । उनले धेरै सर्वसाधारण बस्ने गरेको आवासीय क्षेत्रमा आक्रमण गरिएको आरोप लगाए ।
उनले भेनेजुएलाले विदेशी सैनिक उपस्थितिको विरोध गर्ने पनि बताए । पूरै देशमा तुरुन्त सैन्य बल तैनाथ गर्ने उनले घोषणा गरे ।
स्पेनी भाषामा दिएको एक भिडियो सन्देशमार्फत उनले जनतालाई भेनेजुएलाविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो आक्रमणको एकजुट भएर प्रतिरोध गर्न अपिल गरेका छन् । उनले भेनेजुएला सरकारले ‘मादुरोका आदेशहरू’को पालना गरिरहेको बताए ।
रक्षामन्त्रीले भने, “उनीहरूले हामीमाथि आक्रमण गरे, तर हामीलाई झुकाउन सकेनन् ।”
प्रत्यक्षदर्शीका अनुसार, सहरको बीचमा अवस्थित सैन्य विमानस्थल ला कार्लोटा र मुख्य सैन्य अड्डा फुएर्ते तिउना पनि आक्रमणबाट प्रभावित छन् । दुवै स्थानमा भएका विस्फोटका भिडियो समेत सार्वजनिक गरिएको छ । बीबीसी हिन्दीबाट ।