काठमाडौं । विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेस्सीले भारत भ्रमणको अन्त्यसँगै उद्योगपति अनन्त अम्बानीको आतिथ्यमा गुजरातको जामनगरस्थित ‘वन्तारा’ (Vantara) संरक्षण केन्द्रको भ्रमण गरेका छन्। सोमबार सम्पन्न मेस्सीको ‘गोएट इन्डिया टुर’ पछि उनी आफ्ना सहखेलाडी लुइस सुवारेज र रोड्रिगो डे पाउलसहित जामनगर पुगेका हुन्।
दिल्लीको अरुण जेटली स्टेडियम भ्रमण गरेपछि जामनगर पुगेका ३८ वर्षीय मेस्सीलाई अनन्त अम्बानी र उनकी पत्नी राधिका अम्बानीसहित अम्बानी परिवारले भव्य स्वागत गरेका थिए। परम्परागत लोकसंगीत, फूल वर्षा र विधिवत् आरतीसहित गरिएको स्वागतका तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेका छन्।
समाचार एजेन्सी एएनआईका अनुसार मेस्सी र उनका सहखेलाडीहरूलाई भारतीय संस्कृतिअनुसार परम्परागत शैलीमा स्वागत गरिएको थियो। यस अवसरमा मेस्सीले आरतीमा सहभागी हुँदै आशिर्वाद लिएका थिए। उनले मन्दिरमा आयोजित महाआरतीमा सहभागिता जनाउँदै विभिन्न धार्मिक पूजाआराधनामा पनि श्रद्धापूर्वक सहभागिता जनाएका थिए। विश्व शान्ति र एकताको कामना गर्दै गरिएको पूजामा उनले भारतीय आध्यात्मिक परम्पराप्रति सम्मान व्यक्त गरेका थिए।