काठमाडौं । युरोपेली संघका नेताले युक्रेनलाई ९० अर्ब युरो (१०५ अर्ब अमेरिकी डलर) ऋण दिने सम्झौता गरेका छन् । ‘फ्रिज’ गरिएको रुसी सम्पत्तिको रकम प्रयोग गर्ने विषयमा सहमति नजुटेपछि उनीहरूले यो सम्झौता गरेका हुन् ।
यो सम्झौताले आउँदो दुई वर्षसम्म युक्रेनको सैन्य र आर्थिक आवश्यकता पूरा गर्ने नेताहरूले बताएका छन् । ब्रसेल्समा आयोजित शिखर बैठकमा एक दिनभन्दा बढी चलेको छलफलपछि उक्त निर्णय गरिएको हो ।
“हामीले प्रतिबद्धता गरेका थियौँ र हामीले त्यसलाई पूरा गर्यौँ,” युरोपेली संघका अध्यक्ष एन्टोनियो कोस्टाले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेताहरूलाई करिब २०० अर्ब युरोबराबरका फ्रिज गरिएका रुसी सम्पत्ति प्रयोग गर्न आग्रह गरेका थिए । तर, त्योमध्ये अधिकांश नगद बेल्जियममा राखिएको छ । बेल्जियमले दायित्व साझेदारीको ‘ग्यारेन्टी’ माग्यो, अरू सदस्य राष्ट्रलाई त्यो स्वीकार्य हुन सकेन ।