रूस–युक्रेन युद्ध जारी रहे ‘तेस्रो विश्व युद्ध’ हुन्छ – ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्धको विषयमा कडा चेतावनी दिएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्ता घटनाक्रमले तेस्रो विश्व युद्धतर्फ डोर्‍याउने धारणा व्यक्त गरे ।

ट्रम्पले पछिल्लो महिनामा मात्रै करिब २५ हजार मानिस मारिएको बताए । उनले जसमध्ये धेरैजसो सैनिक भएको भन्दै यो रक्तपात रोक्न चाहेको र यसका लागि धेरै मेहनत गरिरहेको बताए ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले पनि राष्ट्रपति ट्रम्प दुवै पक्षसँग क्रोधित रहेको बताइन् ।

उनका अनुसार, राष्ट्रपति यस युद्धबाट दुवै पक्षसँग अत्यन्तै असन्तुष्ट भएको बताउँदै उनी बेकारका बैठकहरूबाट थाकिसकेका र अब कुरा नभई काम चाहेको बताइन् ।

लेभिटले ट्रम्प युरोपेली नेताहरूसँग कुराकानी गरिरहेको र अमेरिकी दूतहरू लगातार दुवै देशसँग सम्पर्कमा रहेको स्पष्ट पारिन् ।

उता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई डोनेट्स्कका केही भागबाट फौज हटाउन र त्यहाँ एक प्रकारको आर्थिक क्षेत्र निर्माण गर्न चाहेको बताएका छन् ।

जेलेन्स्कीले युक्रेनले २० बुँदाको आफ्नो जवाफ अमेरिकालाई पठाइसकेको र कुनै पनि भूमिमा सम्झौता जनताको रायबाट मात्रै हुनेछ भन्ने जानकारी दिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार