काठमाडौं । अमेरिकाको भन्सार कर (ट्यारिफ) र व्यापार नीतिहरूले आफ्नै किसानहरू सकंटमा परेका छन् । वाशिङ्टनले किसानको क्षतिपूर्तिका लागि १२ अर्ब डलरको विशेष राहत प्याकेज घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानहरूका लागि १२ अर्ब डलरको सहायता प्याकेज घोषणा गरेका छन् । जुन उनको व्यापार नीतिको असरले गम्भीर रूपमा प्रभावित किसानहरूलाई प्रदान गरिनेछ ।
सोमबार वाशिङ्टन डीसीस्थित ह्वाइट हाउसमा कृषि सचिव ब्रुक रोलिन्स र थुप्रै किसानहरूको उपस्थितिमा उक्त योजना अनावरण गर्दै ट्रम्पले भने, “घरेलु खेती उत्पादनलाई अधिकतम बनाउनु हाम्रो अमेरिकालाई फेरि किफायती बनाउने र खाद्यान्नको मूल्य कम गर्ने प्रयासको एक महत्वपूर्ण हिस्सा हो ।”
कृषि सचिव रोलिन्सले ‘फार्मर ब्रिज असिस्टेन्स प्रोग्राम’को प्रारम्भिक चरणले ‘रो क्रप फार्मर’हरूका लागि ११ अर्ब डलर उपलब्ध गराउने बताइन् ।
यो कार्यक्रमले नसमेटेका केही विशेष बाली उब्जाउने किसानहरूका लागि थप एक अर्ब डलर छुट्याइएको छ । यो सहायता रकम फेब्रुअरीको अन्त्यसम्म उपलब्ध हुनेछ ।
चीनले अमेरिकी व्यापार शुल्कको प्रतिशोधमा अमेरिकी सोयाबीनको खरिदमा कटौती गरेपछि आएको हो, जसले मल (फर्टिलाइजर) र अन्य कृषि उत्पादनहरूको लागत पनि बढाएको छ ।
अमेरिकी कृषि मन्त्रालय (यूएसडीए) र कंग्रेसनल रिसर्च सर्भिसका आधिकारिक रिपोर्टहरू अनुसार, ट्यारिफ युद्धका कारण चीन लगायत धेरै ठूला देशहरूले अमेरिकी अन्न तथा अन्य कृषि उत्पादनहरूको खरिद उल्लेख्य रूपमा घटाए । अथवा अस्थायी रूपमा रोक लगाए । यसले अमेरिकी किसानहरूको आम्दानी र निर्यात दुवैमा प्रत्यक्ष असर पारेको थियो ।
चीनले सोयाबीन, मकै, सुँगुरको मास, कपाससहित धेरै अमेरिकी कृषि उत्पादनहरूमा प्रतिशोधात्मक शुल्क बढाएको थियो । यसले आयात घटाएको थियो । यसबाट शुल्क युद्धको सीधा मार ती क्षेत्रमा पर्यो, जहाँ मकै र सोयाबीनको खेती ठूलो मात्रामा हुन्छ । अलजजिरा