काठमाडौं । उच्च अदालतको आदेशमा पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।
सुन तस्करीमा संलग्नता देखिएपछि उनलाई गत असोज २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
दुई महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।