साइबर बुलिङले फ्रान्सकी प्रथम महिलालाई ‘एन्जाइटी’ 

काठमाडौं । फ्रान्सकी प्रथम महिला ब्रिजिट म्याक्रों सामाजिक सञ्जालमा पुरुष भएको भ्रामक अफवाहका कारण ‘एन्जाइटी’बाट पीडित भएकी छन् । उनकी छोरी ब्रिजिटले मंगलबार पेरिसको एक अदालतमा बताएकी समाचारमा उल्लेख छ ।

४१ वर्षीया तिफेन औजियर आमाका तर्फबाट अदालती सुनुवाइमा सहभागी भएकी थिइन् । यस मुद्दामा सरकारी वकिलहरूले प्रथम महिलाको यौनिकता सम्बन्धी दुर्भावनापूर्ण टिप्पणीहरू फैलाएको आरोपमा अनलाइनबाट दुर्व्यवहार गरेको अभियोगमा दशजनालाई दोषी ठहर गरेका छन् ।

औजियरले अदालतमा भनिन्, “मेरी आमा (ब्रिजिट) दुर्व्यवहारबाट पीडित नभएको दिन छैन । उनको व्यक्तिगत वा व्यावसायिक जीवनमा यी आरोपहरू नउठाउने कोही पनि छैन ।”

उनले थपिन्, “आमाले लगाउने कपडा र आफ्नो चालचलनमा निरन्तर ध्यान दिनुपर्ने बाध्यता छ, किनभने उनको कुनै पनि तस्बिरलाई विकृत बनाएर अनलाइनमा हतियारको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने डर रहन्छ ।”

साइबर बुलिङले ब्रिजिटको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको र यो बिग्रँदो अवस्थालाई चिकित्सकीय मूल्यांकनले पुष्टि गरेको औजियरले बताइन् ।

प्रथम महिला ब्रिजिट र उनका पूर्वपति आन्द्रे–लुइस औजियरका तीन सन्तानमध्ये कान्छी छोरी तिफेनले यी अनलाइन हमलाहरूले बाँकी परिवारलाई पनि गहिरो रूपमा असर पारेको बताइन् ।

उनले भनिन्, “हजुरआमाविरुद्धका अशोभनीय टिप्पणीहरूले नातिनातिनाहरूलाई निकै दुःखी बनाएको छ ।” फ्रान्सकी प्रथम महिला ब्रिजिटमाथि साइबर बुलिङ गर्नेहरूविरुद्ध अहिले अदालतमा मुद्दा चलिरहेको छ ।

सरकारी वकिलका अनुसार प्रारम्भिक अनुसन्धानमा ब्रिजिट म्याक्रोंको यौनिकता सम्बन्धी अनेक दाबीहरू फेला परेका थिए । साथै केही अभियुक्तहरूले प्रथम महिला र राष्ट्रपतिबीचको उमेर अन्तरलाई बाल यौन दुर्व्यवहारका रूपमा चित्रण गरेको पनि पाइएको थियो ।

यो मुद्दामा आठ पुरुष र दुई महिला पक्राउ परेका छन् । तीमध्ये एक निर्वाचित अधिकारी, एक ग्यालरी मालिक, एक आईटी विज्ञ, एक शिक्षक, एक प्रोपर्टी म्यानेजर र एक व्यवसायी रहेका छन् । उनीहरूको उमेर ४१ देखि ६० वर्षबीच रहेको बताइएको छ । सीएनएन

प्रतिक्रिया
सम्बन्धित समाचार