स्वास्थ्य विभागका २० हजार कर्मचारी बर्खास्त गर्दै ट्रम्प प्रशासन

काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागमा २० हजारजति कर्मचारी हटाउने योजना बनाएको छ । यो घोषणासँगै देशभरका सार्वजनिक स्वास्थ्य संस्थामा कार्यरत करिब ८२ हजार कर्मचारी आतंकित बनेका एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ ।

स्वास्थ्य तथा मानव सेवा विभागका कर्मचारीलाई जुनैसुकै बेला जागिरबाट बर्खास्त गरिएको इमेल आउन सक्ने भनिएको छ । इमेलको प्रतीक्षामा बस्न उनीहरूलाई निर्देशन दिएको छ ।

सोमबार कामबाट निस्कने तयारी गरिरहेका खाद्य तथा औषधि प्रशासन (एफडीए)का केही कर्मचारीलाई आफ्ना ल्यापटप ‘प्याक’ गर्न र अब जागिरमा फर्कने सम्भावना नरहेको भनिएको बताइएको छ ।

जागिर खोसिएको सूचना आउन सक्ने भन्दै कर्मचारीलाई आफ्नो इमेल जाँच गर्न भनेर एउटा इमेल प्राप्त भएको एफडीएका एक अधिकारीलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

गएको शुक्रबार सरुवा रोग नियन्त्रणमा काम गर्ने दर्जनौँ कर्मचारीलाई बिदामा पठइएको थियो ।

यसअघि, अमेरिकी स्वास्थ्य तथा मानव सेवामन्त्री रोबर्ट एफ केनेडी जुनियरले आफू मातहातका कर्मचारीलाई ‘असक्षम नोकरशाही’ भन्दै १.७ ट्रिलियन डलर वार्षिक बजेट खर्च भए पनि अमेरिकी नागरिकको स्वास्थ्य सुधार गर्न असफल भएको भनेर आलोचना गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार