काठमाडौँ – नख्खु कारागारबाट बाहिर निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने माग चर्किन थालेको छ। जेन-जीहरूले टिकटकमार्फत् रविलाई जेल फर्किन दबाब देखिन थालेका बेला अब सडकका भित्तामा पनि सूचना देखिन थालेको छ ।
सहकारी ठगीमा जेलमा रहेका रविलाई रास्वा सांसदहरू हरि ढकाल र डीपी अर्याल नख्खु पुगेर त्यहाँस्थित जेलरलाई दबाब दिँदै कानुनी रुपमा प्रश्न गर्न मिल्ने कागजातका भरमा बाहिर निकालेका थिए ।चलानी नम्बरसमेत नभएको र गृह मन्त्रालयका सचिवले गर्ने नमिल्ने निर्णय भन्दै लेखिएको उक्त पत्रलाई आड देखाउँदै बाहिर निस्केका रविलाई फेरि जेल पठाउने अभियान थालिएको हो ।
पछिल्लो पटक ‘हामी नेपाल’ समूहका युवाहरूले काठमाडौँका चोक-चोकमा रवि लामिछानेको फोटोसहितको पोष्टर टाँस्दै फरार भएकाले पक्राउ गर्न दबाब दिएका हुन् ।उनीहरूले रवि कारागारबाट निस्किएर फरार भएकाले उनलाई पक्राउ गरेर कारागार फर्काउन माग गरेका छन् । ‘कैदी भागेको सूचना’ भन्दै टाँसिएको पोस्टरमा उनलाई ‘मस्ट वान्टेड क्रिमिनल’ का रुपमा उक्त सूचनामा परिचित गराइएको छ ।