भारतीय लगानीकर्तालाई नेपालमा ढुक्कले लगानी गर्न आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा बुधबार भएको नेपाल(भारत ऊर्जा सम्मेलनको अवसरमा बोल्दै अध्यक्ष कार्कीले नेपाल सरकारले हालै मात्र सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुर्‍याउने महत्वाकांक्षी लक्ष्य लिएको र त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकाले अहिले नेपालमा लगानीको सुनौलो अवसर रहेको बताए ।

उनले ०५७ देखि मात्र विद्युत उत्पादन सुरु गरेको नेपाली निजी क्षेत्रले अहिले कुल जडित क्षमता ३५०० मेगावाट पुग्दा यसको ८० प्रतिशत (करिब २८०० मेगावाट) हिस्सा ओगटेको पनि जानकारी गराए ।

नेपाल र भारतबीच हाल १००० मेगावाट विद्युत आदानप्रदान भइरहेकोमा आगामी १० वर्षभित्र त्यसलाई बढाएर १० हजार मेगावाट पुर्‍याउने विषयमा दीर्घकालीन सम्झौता भइसकेको, भारती कम्पनीको लगानीमा नेपालमा ५ हजार मेगावाट बराबरका आयोजना अघि बढिरहेको र थप हजारौँ मेगावाट बराबरका आयोजनाले भारतीय लगानी पर्खिरहेको कार्कीले बताए ।

नेपाल लगानी बोर्डद्वारा गरिएको प्रारम्भिक अध्ययनअनुसार, नेपालको सौर्य उर्जा उत्पादन क्षमता ४।३२ गिगावाट भन्दा बढी रहेकाले सौर्य ऊर्जामा पनि नेपाल भारतीय लगानीकर्ताका निम्ति आकर्षक गन्तव्य हुन सक्ने कार्कीले बताए ।

नेपाल आदानी समूह, टाटा पावर, जिन्दल पावर, जीएमआर समूह, एसजेभीएन लिमिटेड, एनएचपीसीजस्ता प्रमुख भारतीय व्यापारिक घरानाहरूसँग साझेदारी गर्न इच्छुक रहेको पनि उनले जानकारी गराएका थिए ।

नेपालको प्रचुर जलविद्युत उत्पादन सम्भावनालाई वास्तविकतामा परिणत गर्दै नेपाललाई क्षेत्रीय बजारमा बढीरहेको ऊर्जाको मागलाई परिपूर्ति गर्ने मुलुकको रूपमा विकास गर्न सकिने कार्कीको भनाइ थियो ।

इप्पान उपाध्यक्ष आनन्द चौधरीले करिब २० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेकाले आकर्षक आयोजना छानेर लगानी गर्न सक्ने अवसर भारतीय लगानीकर्तामाझ रहेको बताए ।

उनले निजी तथा सरकारी स्वामित्वमा रहेका नेपालका ठूला र आकर्षक तीन दर्जन जलविद्युत आयोजनाबारे भारतीय लगानीकर्तालाई संक्षिप्त जानकारी पनि गराए ।

प्रतिक्रिया
सम्बन्धित समाचार