नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ

धुलिखेल- नक्कली सरकारी कागजात र छाप बनाउने एउटा गिरोह काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय, धुलिखेलले धुलिखेल नगरपालिका वडा नं. ११ बाट नक्कली सरकारी कागजात र छाप नक्कली बनाउने गिरोहलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गोरखाको लखन गाउँपालिका–९, घर भई हाल काठमाडौं बस्दै ४१ वर्षीय किरण अर्याल र धुलिखेल नगरपालिका–११ का ३८ वर्षीय जितेन्द्र तामाङ छन् । प्रहरीले जिल्ला अदालत काभ्रेको अनुमतिमा वडाअध्यक्षको नाममा सञ्चालन भइरहेको नक्कली कागजात बनाउने कार्यालयमा छापा हानेको थियो।

प्रहरीको टोलीले विभिन्न सरकारी तथा निजी संस्थाका २६ थान छापहरू, नेपाली नोट ६८ हजार ७०० राहदानी, नागरिकता, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, हार्डड्राइभ, सीपीयू, प्रिन्टर, र फोटोकपी मेसिनहरू पनि बरामद गरेको छ।

बरामद गरिएका छापहरू

धुलिखेल नगरपालिका वडा नं. ११

तारा खोलागाउँपालिका, बागलुङ

हेटौंडा उपमहानगरपालिका

चितवनको रत्ननगर वडा नं. १

नेपाल विद्यार्थी संघ

नेपाल नोटरी पब्लिक काउन्सिल

विभिन्न वडाध्यक्षहरूको नामसहितका छाप

अस्पताल, मासु पसल, होटेल र कम्प्युटर इन्स्टिच्युटका छाप

पक्राउ परेकाहरूलाई सरकारी छाप दुरुपयोग तथा कागजात नक्कली बनाएको आरोपमा जिल्ला अदालत काभ्रेद्वारा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीका अनुसार उनीहरूले नक्कली नागरिकता, सिफारिसपत्र, शैक्षिक प्रमाणपत्रलगायतका कागजात बनाइ रोजगारीका लागि विदेश जाने व्यक्तिहरूलाई बिक्री गर्ने गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार