काठमाडौं । भारतको अहमदावादमा गत महिना भएको एयर इन्डिया दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले इन्जिनहरू बन्द गर्न प्रयोग गरिने इन्धन नियन्त्रण गर्ने स्विचहरू बन्द अवस्था (कट–अफ)मा पाइएको बताएको छ ।
प्रतिवेदनका अनुसार ककपिट भ्वाइस रेकर्डिङमा एकजना पाइलटले अर्कोलाई “तिमीले किन कट–अफ गर्यौ ?” भनेर सोधेको सुनिन्छ । अर्को पाइलटले उनले त्यसो गरेको छैन जवाफ दिएको सुनिएको छ । तर, कुन आवाज कसको हो स्पष्ट नभएको बताइएको छ ।
विमानले उडान भर्दा को–पाइलटले विमान उडाइरहेका थिए भने क्याप्टेनले निगरानी गरिरहेका थिए ।
दुर्घटनामा कम्तीमा २६० जनाको मृत्यु भएको थियो । बेलायती नागरिक विश्वशकुमार रमेश बाँच्न सफल एकमात्र व्यक्ति फ्युजलेजमा भएको खुला भागबाट भाग्न सफल भएका थिए ।
भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोले १५ पृष्ठको प्रारम्भिक प्रतिवेदन प्रकाशित गरेको छ । यसले उडान गरेको केही सेकेन्डमा नै दुर्घटनाग्रस्त भएको एयर इन्डिया विमानमा के भएको थियो भनी विस्तृत रूपमा वर्णन गरेको छ ।
विमानले ०८ : ०८: ४२(यूटीसी)मा अधिकतम रेकर्ड गरिएको हावाको गति १८० नट्स आईएएस प्राप्त थियो । त्यसपछि इन्जिन १ र इन्जिन २ को इन्धन कट–अफ स्विचहरू एक सेकेन्डको अन्तरमा ‘रन’ बाट ‘कट अफ’ अवस्थामा परिवर्तन भएका थिए । “त्यसपछि, तिमीले किन कट–अफ गर्यौ ? भनेर सोधेको सुनिन्छ । अर्को पाइलटले उनले त्यसो गरेको छैन भनेर जवाफ दिएको सुनिएको छ,” प्रतिवेदनमा उल्लेख छ ।