विमान दुर्घटनापछि शोकमा पुरै भारत, विमानको ११-ए सीटमा बसेका यात्रु जीवितै भेटिए

काठमाडौं- भारतको पश्चिमी शहर अहमदाबादमा बिहीबार लन्डनका लागि उडेको यात्रुवाहक विमान दुर्घटना भएको छ । एयर इन्डियाको विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ । लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनास्थलमा एक जना जीवित फेला परेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार विमानको ११-ए सीटमा बसेका यात्रु जीवितै भेटिएका हुन् । त्यसअघि प्रहरीले विमानमा सवार सबै २४२ जनाको मृत्यु भएको हुनसक्ने बताएको थियो । दुर्घटनासँगै भारत शोकमा डुबेको छ ।

घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘‘हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ । हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो तल्लाबाट हामफालेको देखेका छौँ । विमानमा आगो लागेको स्पष्ट देखिन्थ्यो ।’

भारतका उड्डयनमन्त्रीले अहमदाबादमा भएको दुर्घटनाबाट आफू ‘स्तब्ध र विक्षिप्त’ भएको बताए । एएफपीका पत्रकारले विमानस्थनमा कालो धुवाँको बाक्लो मुस्लो देखेका थिए । भारतको नागरिक उड्डयन प्राधिकरणले भन्यो, ‘‘जहाजमा दुई पाइलट र १० चालक दलका सदस्यसहित दुई सय ४२ व्यक्ति सवार थिए ।’’ विमानमा एक सय ६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानाडाली यात्रु सवार रहेको एयर इन्डियाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार