काठमाण्डाैँ – प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ । तर ‘भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूको अवरोध जारी रहेकाले बैठक बस्ने या नबस्ने निश्चित छैन । जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।