गाजामा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम अस्पताल पनि बन्द, पछिल्लो २४ घण्टामा ७२ जनाको मृत्यु

एजेन्सी – उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम अस्पताल पनि बन्द भएको छ । इजरायली सेनाले अस्पताललाई तुरुन्तै खाली गर्न आदेश त्यहाँको निर्देशकले दिएको बताएका हुन् ।

डा. मोहम्मद सलहाले दिएको जानकारी अनुसार ‘दुई हप्ताको घेराबन्दी’ पछि बिहीबार साँझ जबालियाको अल–अवदा अस्पतालबाट बिरामीहरूलाई बाहिर निकालिएको थियो । उनले भने, ‘अब उत्तरमा कुनै पनि स्वास्थ्य सुविधाहरू सञ्चालनमा छैन ।’

इजरायली रक्षा बल (आईडीएफ) बाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । युद्धविराम प्रयासहरू चलिरहेका बेला यो घटना प्रकाशमा आएको हो । हमासले अमेरिकी युद्धविराम योजनाको ‘ध्यानपूर्वक समीक्षा’ गरिरहेको बताएको छ । यस योजनाको बारेमा जानकारी दिँदै ह्वाइट हाउसले इजरायलले यसमा ‘हस्ताक्षर’ गरेको दाबी गरेको छ ।

गाजामा अहिले पनि इजरायलको सैन्य कारबाही जारी छ । गाजामा रहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा विगत २४ घण्टामा कम्तीमा ७२ जनाको मृत्यु भएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार