काठमाडौं– रत्नपार्क–सूर्यविनायक ‘द्रुत बस सेवा’ का लागि सरकारले साढे दुई करोड रुपैयाँ व्यर्थैमा खर्च गरेको देखिएकाे छ । ४५ मिनेटमा रत्नपार्क–सूर्यविनायक बस पुर्याउने लक्ष्यसहित अनुसन्धान बिनै सञ्चालनमा ल्याइएको यो सेवा एक महिनामै बन्द भएको थियो । ‘द्रुत बस सेवा’ सञ्चालनमा ल्याउन राज्यको ढुकुटीबाट २ करोड ३५ लाख ५९ हजार रुपैयाँ खर्च भएको हो ।
महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार सडक विभागबाट १० लाख रुपैयाँ, सडक डिभिजन कार्यालय काठमाडौंबाट ९९ लाख, सूर्यविनायक–धुलिखेल सडक योजना कार्यालयबाट १ करोड ४ लाख र अन्य निकायबाट गरेर यो रकम खर्च गरिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट काठमाडौं उपत्यकाको सवारी चाप तथा ट्राफिक जामलाई व्यवस्थापन गर्न उपयुक्त विकल्पको खोजी गर्न निर्देशन भएअनुसार रत्नपार्कदेखि सूर्यविनायकसम्म दु्रत बस सेवाको अवधारणा तयार गरी लेन मार्किङ गरिएको थियो । भव्य रुपमा सुरु भएको कार्यक्रम १ महिना नपुग्दै बन्द हुदाँ राज्यलाई दायित्वमात्र बढेको थियो । ट्राफिक सुरक्षासम्बन्धी काममा कोटेश्वरलगायत स्थानमा डेडिकेटेड लेन नै बन्द गरेकाले दु्रत बस सेवा सञ्चालनमा नरहेको प्रतिवेदनले औंल्याएको छ ।