सुनिल पौडेलसहित ५ जनाविरुद्ध ५ करोड ७९ लाख बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा

आरोपितहरू माथि जनही ५ करोड ७९ लाख बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर

काठमाडौं – राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र सोमबार विशेष अदालतमा दायर गरेको हो। आरोपितहरू माथि जनही ५ करोड ७९ लाख बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको आयोगले जनाएको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तत्कालीन सहायक निर्देशक रमेश पौडेलसहित ५ जनाविरुद्ध मुद्दा दायर भएको हो।

अख्तियारले दायर गरेको मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रको एनआईटीसीरजीएनसीबी-६-०७५/०७६ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार केन्द्रबाट ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकको भ्याटबाहेकको २ करोड ६५ लाख र अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेकको ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको उल्लेख छ।

प्रतिवादीले आफूलाई गैरकानूनी लाभ पुर्‍याउने तथा नेपाल सरकार र सार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनीयतले ५ करोड ५९ लाख बरावरको रकम बढी भुक्तानी लिई दिई कसूरजन्य कार्य गरे गराएको आयोगका सहसचिव एवम प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार पौडेलसँगै केन्द्रका तत्कालिन निर्देशक रमेश पोख्रेल र कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनलन प्राली पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनलाई पनि ५ करोड ७९ लाख बराबरकै जनही विगो दाबी सहित मुद्दा दायर भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार