बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसरहरू पनि घट्दै गएका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा थोरै उच्च हो । यद्यपि, बेरोजगारी दर भने अघिल्लो वर्षको तुलनामा केहि बढेको देखिएको छ ।

फेब्रुअरीदेखि मार्च महिनाको अवधिमा कम्पनीहरूको तलब सूचीमा रहेका कर्मचारी सङ्ख्या ४७ हजारले घटेको छ भने प्रारम्भिक अनुमानअनुसार अप्रिल महिनामा थप ३३ हजारले कमी आउने सम्भावना देखिएको छ ।

तलब वृद्धिदर पनि केही मन्द भएको देखिएको छ । बोनस बाहेकको औसत साप्ताहिक आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढेको छ, जुन अघिल्लो त्रैमासिकको ५.९ प्रतिशतभन्दा केही कम हो । बोनससहितको कुल तलब ५.५ प्रतिशतले बढेको देखिएको छ । मुद्रास्फीतिसँग समायोजन गर्दा वास्तविक तलब वृद्धिदर १.८ प्रतिशत रहेको छ ।

अर्कोतर्फ, रोजगारको अवसर पनि घट्दै गएका छन्। अहिले कुल रोजगारीको अवसर सात लाख ६१ हजार पुगेको छ, जुन महामारीपूर्वको स्तरभन्दा थोरै कम हो ।

आर्थिक विश्लेषकहरूले श्रम बजारमा देखिएको मन्दी पछाडि उच्च तलब कर र हालै गरिएको न्यूनतम तलब वृद्धिलाई मुख्य कारणका रूपमा औंल्याएका छन् । खुद्रा तथा आतिथ्य सेवाका क्षेत्रहरूमा विशेष गरी मार्च र अप्रिल महिनामा रोजगारीमा कटौती देखिएको छ ।

यद्यपि श्रमिक मागमा केही गिरावट देखिएको भए पनि तलब वृद्धिदर अझै उच्च भएकाले बेलायतको केन्द्रीय बैङ्क (बैङ्क अफ इङ्गल्याण्ड) लाई मुद्रास्फीति नियन्त्रणमा चुनौतीको सामना गर्नुपरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार