बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

एजेनसी– बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन गरेको छ ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लिगलाई प्रतिबन्ध लगाएपछि यो कदम आएको हो । यो प्रतिबन्ध गत वर्ष हसिनालाई अपदस्थ गर्न प्रेरित गरेको सामूहिक विरोध प्रदर्शनमा गरेको दमनको मुद्दाको फैसला नआएसम्म जारी रहने छ ।

अवामी लिग बङ्गलादेशको सबैभन्दा पुरानो राजनीतिक दल हो र यसले सन् १९७१ मा देशको मुक्ति युद्धको नेतृत्व गरेको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ जुलाई–अगस्टमा हसिनाको सरकारले विपक्षीमाथि कारबाही गर्न क्रूर अभियान चलाउँदा एक हजार चार सय प्रदर्शनकारीको मृत्यु भएको थियो ।

सतहत्तर वर्षीया हसिना भारतमा स्व–निर्वासनमा छिन् र मानवता विरुद्धको अपराधको आरोपमा ढाकाबाट गिरफ्तारी वारेन्टको अवहेलना गरेका छन् ।

बङ्गलादेश निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले गृह मन्त्रालयको सिफारिसका आधारमा अवामी लिगको दर्ता निलम्बन गरेको बताए।

चौरासी वर्षीय युनुसले डिसेम्बरको सुरुमा र पछिल्लो समय जुन २०२६ सम्ममा संसदीय चुनाव हुने बताएका छन् ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आफ्नो कार्यवाही सम्पन्न नगरेसम्म पार्टी र यसका सम्बद्धहरूलाई र्‍याली र सम्मेलनसहित कुनै पनि राजनीतिक गतिविधि गर्न निषेध गर्ने निर्देशन पनि जारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार