एजेन्सी–केन्याको एक अदालतले बेल्जियमका दुई किशोरसहित चार जनालाई हजारौँ जीवित कमिलालाई देशबाहिर तस्करी गर्ने प्रयास गरेको आरोपमा सात हजार अमेरिकी डलरभन्दा बढी जरिवाना गरेको। केन्याली वाइल्डलाइफ सर्भिस (केडब्लुएस) ले चारै जनालाई ‘बायो पाइरेसी’मा संलग्न भएको आरोप लगाएपछि यो मुद्दाले निकै चर्चा पाएको छ।
बेल्जियमका १८ वर्षीय डेभिड लोर्नोय र सेप्पे लोडेविजक्स, भियतनामका दुह हुङ गुयेन र केन्याका डेनिस न्गाङ्गाले कमिलाहरू राखेको स्वीकारेका छन् तर तिनीहरू तस्करी गर्न लागिएको भने नभएको बताएका छन्। राजधानी नैरोबीबाट करिब १६० किलोमिटर टाढा रहेको नाकुरु काउन्टीमा दुई हजार २४४ वटा ट्युबमा प्याक गरिएका पाँच हजार रानी कमिलासहित लोर्नोय र लोडेविजक्क्सलाई पक्राउ गरिएको हो।
एएफपीले देखेको आरोपपत्रअनुसार दुह र एनगाङ्गामा कपासको ऊनले भरिएको १४० वटा सिरिन्ज र दुई कन्टेनरमा कमिलाहरू राखिएको अवस्थामा फेला परेका थिए। यी दुई मुद्दा छुट्टाछुट्टै थिए तर चारै जनाविरुद्ध एकसाथ मुद्दा चलाइएको थियो। बेल्जियममा लोर्नोयलाई ‘कमिला प्रेमी’ को रूपमा वर्णन गरिएको छ भने उनले घरमा कमिलाका समूहहरूको भण्डारण गरेका छन्। उनी ‘कमिला र कमिला पालन’नामक फेसबुक समूहको सदस्य हुन्।
उनले अनुसन्धानकर्ताहरूलाई कमिलाको ओसारपसार गैरकानुनी हो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन्। नैरोबीको प्रहरीले बेल्जियनहरूले लगेको कमिलाको मूल्य १० लाख शिलिङ ९सात हजार ७४० अमेरिकी डलर० मूल्य बराबरको रहेको बताएको छ। अदालतको प्रतिवेदनअनुसार उक्त चोरीमा दुर्लभ ‘मेसोर सेफालोट्स’ प्रजातिको कमिला पनि समावेश छ, जसमध्ये एक रानी कमिला हाल कम्तीमा ९९ अमेरिकी डलरमा बिक्री भइरहेको छ।