काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले नियम उल्लङ्घनविरुद्ध कडा कारबाही अभियान तीव्र पारेको छ।
पछिल्लो २४ घण्टामा मात्र २ हजार २१८ चालकलाई कारबाही गरिएको छ भने ६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कारबाहीको सूचीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८६ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १७० जना र ट्राफिक संकेत उल्लङ्घन गर्ने १४८ जना परेका छन्।
तीव्र गतिमा सवारी चलाउने १३९ चालकलाई पनि कारबाही गरिएको छ।
त्यसैगरी लेन अनुशासन नमान्ने ९४, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, फुटपाथमा सवारी पार्किङ गर्ने १३८ र एकतर्फी सडकमा सवारी चलाउने ११० जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १२५ जनालाई समेत कानूनी कारबाही गरिएको छ।