काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपात हुनेछ । मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
विभागले राति कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी प्रदेशको केही स्थान, मधेस, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
बाँकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
जलवायुविज्ञ धर्मराज उप्रेतीले राति २ बजेयता चितवनदेखि झापासम्म केही ठाउँमा मध्यमसम्म वर्षा भएको बताएका छन् । “यो दिउँसोसम्म नै रहने सम्भावना छ । पश्चिम तराईमा हल्का प्रभाव हुनेछ,” उनी भन्छन्, “तर मधेसलगायत पूर्वी भागमा ठूलै (राम्रै) वर्षाको सम्भावना छ ।”
उनले खहरे खोलामा बाढीको जोखिम हुनसक्ने र बीपी राजमार्गका पर्ने रोशी खोलामा सावधानी आवश्यक रहेको बताएका छन् ।
मौसमविद् विनोद पोखरेल वैशाखमा पश्चिमी वायुको प्रभाव लगातार एक महिना दिखिएको भन्दै अझै दुई हप्तासम्म नेपालमा दैनिक वर्षा हुने बताउँछन् ।
अब दुई हप्ता सबै ठाउँमा सधैँ वर्षा नभए पनि नेपालका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।