काठमाडौं । सरकारले मन्त्रिपरिषद् सदस्यका सम्पत्ति विवरण सार्वजनिक गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को प्रावाधानअनुसार सरकारले मन्त्रिपरिषद् सदस्यका सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको छ ।
कसको कति सम्पत्ति ?
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालबाट एक करोडभन्दा बढी आर्जन गरेको विवरण पेस गरेका छन् ।मन्त्रिपरिषद्मा पेस सम्पत्ति विवरण अनुसार उनले फेसबुक, युट्युब, टीकटक, स्पोटिफाइ र आईट्युन्सबाट उक्त आर्जन गरेको उल्लेख गरेका छन् । उनले श्रीमतीसँग १९० तोला बराबर सुन चाँदी रहेको विवरण उपलब्ध गराएका छन् ।
यस्तै महोत्तरीमा पैतृक सम्पत्तिअन्तर्गत नौ बिघा जग्गा रहेको विवरण छ। यस्तै,काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको उल्लेख गरिएको छ ।
सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले दुईवटा अपार्टमेन्ट, ४५ तोला सुन र एक करोड ९० लाख नगद मौज्दात रहेको विवरण पेस गरेका छन् । उनले चार करोड ९० लाख बराबर शेयरमा लगानी गरेको विवरण उपलब्ध गराएका छन् ।
यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले नौ लाख १३ हजार ८४ रूपैयाँ नगद रहेको विवरण उपलब्ध गराएका छन् । उनले ८ वटा विभिन्न कम्पनीमा शेयर रहेको विवरण खुलाएका छन् । सुन २२ तोला र चाँदी २३ तोला रहेको विवरणमा उल्लेख छ । श्रीमतीको नाममा १४ कम्पनीमा शेयर रहेको उनको विवरण छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सुन १५ तोला र चाँदी ५० तोला रहेको विवरण पेस गरेका छन् । यस्तै चार आना पैतृक जग्गा रहेको विवरणमा उल्लेख छ । यस्तै उनले शेयरमा एक करोड ४५ लाख ४८ हजार ४२० लगानी रहेको विवरण पेस गरेका छन् ।
गृहमन्त्री सुधन गरुङले १९ रोपनी जग्गा रहेको विवरण पेस गरेका छन् । भरतपुरमा २० कठ्ठा र गोरखा चुमनुव्रीमा २२१ रोपनी पैतृक जग्गा रहेको विवरण खुलाएका छन् । उनले सुन ८९ तोला र चाँदी ६ किलो रहेको उल्लेख गरेका छन् । उनले करिब ६२ लाख रूपैयाँ नगद मौज्दात रहेको उल्लेख गरेका छन् । उनले विभिन्न चारवटा कम्पनीमा सेयर रहेको उल्लेख गरेका छन् ।
यस्तै, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले खेत र बारी गरी ३० रोपनी पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । यस्तै, ११ कठ्ठा २५ धुर जमिन रहेको उनको विवरण छ । ३० तोला सुन र ५० तोला चाँदी रहेको विवरण उनले बुझाएका छन् । विभिन्न बैंकमा ९० लाख रूपैयाँ मौज्दात रहेको उल्लेख छ ।
कानुनमन्त्री सोबिता गौतमले १५ तोला सुन, नौ तोला चाँदी र एक तोला हिरा रहेको विवरण उपलब्ध गराएकी छिन् । नगद १० लाख ५० हजार ३३५ रूपैयाँ मौज्दात रहेको उनको विवरण छ ।
मन्त्री सीता बादीले १८ तोला सुन र १५ तोला चाँदी रहेको विवरण उल्लेख गरेकी छिन् । विभिन्न स्थानमा पैतृक जग्गा रहेको उनको विवरण छ । १५ लाख नगद रहेको विवरण उनले पेस गरेकी छिन् । संघीय मामिला मन्त्री प्रतिभा रावलले पाँच आना १० धुर जग्गा रहेको विवरण पेस गरेकी छिन् । सुन २५ तोला रहेको उनको विवरणमा उल्लेख छ । करिब पाँच लाख नगद रहेको विवरण उनले पेस गरेकी छिन् ।
खानेपानी मन्त्री सीता मेहताले काठमाडौंमा सात आना र महोत्तरीमा १० बिघा जग्गा रहेको खुलाएकी छिन् । सुन ३० तोला, चाँदी ५० तोला र एउटा हिराको औँठी रहेको विवरण समावेश छ । करिब १७ लाख नगद रहेको उनको विवरणमा खुलेको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यका लगायत अन्य स्थानमा करिब २२ करोड बराबरको पैतृक जग्गा रहेको खुलाएका छन् । यस्तै, सुन २५ तोला र चाँदी सय तोला रहेको उनको विवरणमा उल्लेख छ । करिब पाँच लाख मौज्दात रहेको उनको विवरण छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले ११ तोला सुन र पाँच तोला चाँदी रहेको विवरण उल्लेख गरेका छन् । यस्तै विभिन्न स्थानमा जग्गा रहेको उनको विवरण छ । करिब २५ लाख नगद रहेको उनले उल्लेख गरेका छन् ।
सञ्चार तथा सूचना मन्त्री विक्रम तिम्लसिनाले नागार्जुनमा जग्गा रहेको विवरण उल्लेख गरेका छन् । करिब तीन तोला सुन र चाँदी १० तोला रहेको विवरण उल्लेख गरेका छन् । उनले १० लाख २५ हजार नगद रहेको खुलाएका छन् ।
यस्तै, कृषिमन्त्री गीता चौधरीले राजापुर र सैनामैनामा जग्गा रहेको विवरण उपलब्ध गराएकी छिन् । सुन पाँच तोला र चाँदी सय तोला रहेको उनको विवरण छ ।
एक लाख तीस हजार नगद रहेको उनको विवरण छ । उद्योग वाणिज्य मन्त्री गौरी कुमारी यादवले काठमाडौंमा २५ आना र महोत्तरीमा २९ कठ्ठा जग्गा रहेको उल्लेख गरेकी छिन् ।
सुन १८० तोला र चाँदी २ किलो रहेको उनको विवरण छ । मन्त्री रामजी यादवले राजविराजमा ११ कठ्ठा १३ धुर जमिन रहेको उल्लेख गरेका छन् । ८० तोला सुन र १५० तोला चाँदी रहेको उनको विवरणमा उल्लेख छ।