इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार

एजेन्सी– इरानको न्यूज एजेन्सी तसनीमका अनुसार शनिबार बिहान अमेरिका र इजरायलले इरानको तनान्ज न्युक्लियर सेन्टरमा हवाई आक्रमण गरेका छन् ।

रिपोर्टमा यस आक्रमणमा अहिलेसम्म कुनै प्रकारको रेडियोएक्टिभ (खतरनाक परमाणु) चुहावट नभएको बताइएको छ । यस क्षेत्रमा बस्दै आएका स्थानीयलाई पनि कुनै खतरा नभएको बताइएको छ ।

अमेरिका र इजरायलले यसअघि २ मार्चमा पनि यस प्लान्टमा आक्रमण गरेका थिए । यो इरानको सबैभन्दा ठूलो न्युक्लियर प्लान्ट हो । यहाँ युरेनियम इनरिचमेन्ट गरिँदै आएको छ ।

यो सेन्टरको ठूलो क्षेत्र जमिनमुनि बनेको छ । कुनै प्रकारको आक्रमणबाट क्षति नहोस् भनेर यो सेन्टरलाई जमिनको निकै मुनि बनाइएको हो ।

यता इजरायली आर्मी (आईडीएफ)ले भने न्यूक्लियर प्लान्टमा भएको भनिएको आक्रमण अस्वीकार गरेको छ । आईडीएफले भनेको छ, ‘न्युक्लियर प्लान्टमा हामीले आक्रमण गरेका छैनौं । र कसले गरेको हो भन्ने पनि हामीलाई थाहा छैन । हामी अमेरिकी कारबाहीमा कुनै टिप्पणी गर्दैनौं ।’

तसनीमका अनुसार आक्रमण भएको ठाउँ ‘अहमदी रोशन’ हो । अमेरिकी अधिकारी ब्रेड कूपरले आफ्नो सेनाले होर्मुज स्ट्रेटमा जहाजको सुरक्षामा नजर राखिरहेको बताएका छन् । यस्तै इरानको एक सिक्रेट अन्डरग्राउन्ड संरचनामा बम खसालेको उनले बताए । उक्त क्षेत्रमा मिसाइल र हतियार राखेकाले जहाजलाई हुनसक्ने खतराबाट बचाउन आक्रमण गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार