प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : हाई प्रोफाइलका क-कसले गरे मतदान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान जारी छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा एक घण्टा बित्दा धेरै उम्मेदवार तथा नेताहरूले उत्साहका साथ मतदान गरेका छन् ।

उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

राप्रपा नेता तथा काठमाडौं -५ का उम्मेदवार कमल थापाले काठमाडौं क्षेत्र नं ५ अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं ४ विशाल मिलन केन्द्रमा मतदान गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापाको क्षेत्र नम्बर १ मेचिनगर ९ स्थित कविशिरोमणी माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

गतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमपश्चिम पुगेर मतदान गरेका छन् ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुना नन्द नमूना माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरापलिका–१८, विजौरीस्थित जनता संस्कृत मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ट नेता बालेन्द्र शाहले पनि मतदान गरेका छन् । काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रमा पुगेर रविले बिहान सुरुमै मतदान गरेका हुन् । भने शाहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर मतदान गरेका हुन् ।

जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको हो । देशभर बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुँदैछ। मतदानका लागि मतदाता बिहान ६ बजेदेखि नै मतदाता लाइनमा बसेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार