खाडीमा युद्धको ज्वाला, वासिङ्टनमा खर्चको चाप ! चार दिनमै अर्बौँ डलर स्वाहा

काठमाण्डौ । अमेरिका र इजरायलले इरानविरुद्ध थालेको सैन्य अभियान चौथो दिनमा पुगेको छ। दुवै पक्षले एकअर्काका सैन्य अड्डा, मिसाइल संरचना र रणनीतिक पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार तनाव खाडी क्षेत्रका अन्य स्थानतर्फ पनि फैलिने संकेत देखिएको छ।

अमेरिकी पूर्वराष्ट्रपति Donald Trumpले ‘अपरेशन एपिक फ्युरी’ केही हप्तासम्म लम्बिन सक्ने बताएका छन्। उनले अमेरिका दीर्घकालीन युद्धका लागि तयार रहेको दाबी गरे पनि यस अभियानको आर्थिक भार भने तीव्र रूपमा बढिरहेको छ।

पहिलो दिनमै सयौँ मिलियन डलर खर्च

तुर्कीको सरकारी समाचार संस्था Anadolu Agencyका अनुसार कारबाही सुरु भएको पहिलो २४ घण्टामै करिब ७७९ मिलियन अमेरिकी डलर खर्च भएको अनुमान छ। आक्रमणअघिको तयारी, हवाई साधनको पुनःतैनाथी र नौसैनिक शक्तिको परिचालनमा थप ६३० मिलियन डलर खर्चिएको विवरण Al Jazeeraले सार्वजनिक गरेको छ।

विश्लेषकहरू भन्छन्, सुरुवाती चरणमा सबैभन्दा ठूलो लागत अत्याधुनिक लडाकु विमानहरूको परिचालनमै गएको छ। United States Air Forceले एफ–१८, एफ–१६, एफ–२२ र एफ–३५ जस्ता विमान प्रयोग गर्दा मात्रै करिब २७१ मिलियन डलर बराबर खर्च भएको अनुमान गरिएको छ। यसबाहेक ईए–१८जी ग्राउलर, ए–१०सी थन्डरबोल्ट, एमक्यू–९ रीपर ड्रोनजस्ता उपकरण प्रयोग गर्दा खर्च थपिएको छ।

विमानवाहक पोत सञ्चालन महँगो

रक्षा विश्लेषण संस्था Center for a New American Securityका अनुसार USS Gerald R. Fordजस्तो क्यारियर स्ट्राइक समूह सञ्चालन गर्न दैनिक करिब ६.५ मिलियन डलर लाग्छ। यदि यस्ता एकभन्दा बढी समूह हप्तौँसम्म खाडी क्षेत्रमा तैनाथ गरिए भने समग्र खर्च अर्बौँ डलर नाघ्ने आकलन गरिएको छ।

मिसाइल प्रतिरक्षा प्रणाली, ड्रोन निगरानी, इन्धन, रसद आपूर्ति र गुप्तचर संयन्त्र सञ्चालनजस्ता पक्षले पनि लागतलाई उच्च बनाइरहेका छन्।

अफगानिस्तानको पाठ

यसअघि अफगानिस्तानमा झन्डै दुई दशक लामो युद्धमा अमेरिकाले ट्रिलियन डलर खर्च गरेको थियो। विभिन्न अध्ययनअनुसार प्रत्यक्ष सैन्य खर्च १ ट्रिलियन डलरभन्दा बढी पुगेको थियो भने अप्रत्यक्ष खर्च जोड्दा यो रकम २.३ ट्रिलियन डलरभन्दा माथि पुगेको अनुमान छ। पूर्वसैनिकहरूको स्वास्थ्य उपचार र पुनर्स्थापनामा सन् २०५० सम्म थप २ ट्रिलियन डलरसम्म खर्च हुन सक्ने आँकडा सार्वजनिक भइसकेको छ।

विश्व अर्थतन्त्रमा प्रभाव

खाडी क्षेत्र ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त संवेदनशील भएकाले द्वन्द्व लम्बिँदा कच्चा तेल र सुनको मूल्यमा उतारचढाव बढ्ने संकेत देखिएको छ। भू–राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित भइरहेका छन्।

विशेषज्ञहरूका अनुसार यदि ‘अपरेशन एपिक फ्युरी’ लामो समयसम्म जारी रह्यो भने अमेरिकाको दैनिक खर्च अर्बौँ डलर पुग्न सक्छ। यसले संघीय बजेट घाटा, ऋणभार र विश्व वित्तीय बजारमा थप दबाब सिर्जना गर्ने सम्भावना देखिएको छ।

रणनीतिक रूपमा कसको जित हुन्छ भन्ने भविष्यले देखाएला, तर आर्थिक दृष्टिले यो युद्धको मूल्य भने अमेरिका मात्र होइन, विश्व अर्थतन्त्रले समेत बेहोर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार