काठमाडौं । गुगलले अन्तर्राष्ट्रिय स्तरमा सक्रिय एक संगठित र जटिल साइबर जासुसी सञ्जाललाई निष्क्रिय पारेको जनाएको छ।
गुगलका अनुसार चीनसँग सम्बन्धित ह्याकिङ समूह यूएनसी२८१४ (ग्यालियम) ले विश्वका ४२ देशमा रहेका कम्तीमा ५३ महत्त्वपूर्ण संस्थाहरूको डाटामा अवैध पहुँच बनाउने प्रयास गरेको थियो।
Google Threat Intelligence Group का प्रमुख विश्लेषक John Hultquist ले यो सञ्जाल अत्यन्तै व्यापक र योजनाबद्ध रहेको बताएका छन्। उनका अनुसार यस समूहको लक्ष्य विश्वभरका व्यक्तिहरू र संवेदनशील संस्थाहरूको निगरानी गर्नु थियो, र यो गतिविधि झन्डै दस वर्षदेखि निरन्तर सञ्चालनमा रहेको थियो।
गुगलले स्पष्ट पारेको छ कि यो घटना कम्पनीको उत्पादनमा देखिएको प्राविधिक कमजोरीका कारण नभई प्लेटफर्मको दुरुपयोगका कारण भएको हो। ह्याकरहरूले ‘ग्रिडटाइड’ नामको गोप्य ब्याकडोर प्रयोग गरी प्रयोगकर्ताको नाम, फोन नम्बर, जन्ममिति, मतदाता परिचयपत्र र राष्ट्रिय परिचयपत्रजस्ता संवेदनशील विवरणमा पहुँच बनाएका थिए।
यस जासुसी अभियानले विशेषगरी सरकारी कार्यालय र दूरसञ्चार कम्पनीहरूलाई लक्ष्य बनाएको बताइएको छ।
गुगलले तत्काल कदम चाल्दै ह्याकर समूहसँग सम्बन्धित क्लाउड प्रोजेक्टहरू बन्द गर्नुका साथै उनीहरूले प्रयोग गरिरहेको इन्टरनेट पूर्वाधारलाई समेत अवरुद्ध गरेको जानकारी दिएको छ।
उक्त आक्रमणको मुख्य उद्देश्य ‘कल डाटा रेकर्ड’ तथा एसएमएस सन्देशहरू चोरी गर्नु रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।