वासिङ्टन डीसी – ट्रम्पले अमेरिकामा आयात हुने वस्तुहरूमा १५ प्रतिशतसम्मको विश्वव्यापी भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। अमेरिकी सर्वोच्च अदालतले उनको अघिल्लो आयात करसम्बन्धी निर्णय बदर गरेपछि उनले अझ कडा नीति अवलम्बन गरेका हुन्।
अदालतले राष्ट्रपतिको अधिकार क्षेत्रभन्दा बाहिर गएर कर वृद्धि गरिएको ठहर गर्दै निर्णय खारेज गरेको थियो। त्यसपछि ट्रम्पले सुरुवातमा १० प्रतिशत मात्र कर लगाउने संकेत दिएका थिए। तर, शनिबार आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत उनले अधिकतम १५ प्रतिशतसम्म शुल्क बढाइने जानकारी सार्वजनिक गरे।
उनले यो कदम दुर्लभ रूपमा प्रयोग गरिने एक व्यापार कानुन अन्तर्गत चालिएको बताएका छन्। नयाँ कानुनी व्यवस्था अनुसार प्रशासनले संसद्को प्रत्यक्ष स्वीकृति बिना करिब पाँच महिनासम्म यस्तो शुल्क लागू गर्न सक्नेछ। यो नयाँ दर मंगलबारदेखि प्रभावमा आउने जनाइएको छ।
ट्रम्पको पछिल्लो घोषणाले बेलायत र अस्ट्रेलिया जस्ता मुलुकहरूलाई अन्योलमा पारेको छ। ती देशहरूले यसअघि अमेरिकासँग १० प्रतिशत भन्सार शुल्कमै सहमति गरेका थिए। अब १५ प्रतिशतको नयाँ दर लागू भएपछि ती सहमतिहरूको भविष्यबारे प्रश्न उठ्न थालेको छ।
सर्वोच्च अदालतको निर्णयप्रति ट्रम्पले असन्तुष्टि जनाउँदै यसलाई ‘हास्यास्पद’ र ‘अमेरिका विरोधी’ भन्दै आलोचना गरेका छन्। उनले आफ्नो नीतिको विरोध गर्ने न्यायाधीशहरूप्रति पनि कडा टिप्पणी गर्दै आएका छन्।