एक महिनामै काठमाडौँमा ९७६ आपराधिक मुद्दा दर्ता, आर्थिक कसुरकै हिस्सा सबैभन्दा बढी

काठमाडौँ – काठमाडौँ जिल्लामा गत माघ महिनाभरि मात्रै ९७६ वटा आपराधिक मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार तीमध्ये १५९ मुद्दा जघन्य तथा गम्भीर प्रकृतिका अपराधसँग सम्बन्धित छन्।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक अपराधका घटना उल्लेख्य रूपमा बढेका छन्। माघ महिनामा मात्रै ४६६ आर्थिक कसुरका मुद्दा दर्ता भएका छन्, जुन कुल संख्याको करिब आधा हो। यसबाहेक अन्य विभिन्न प्रकृतिका ३४० मुद्दा दर्ता गरिएको जनाइएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग जोडिएका २२ वटा मुद्दा पनि यही अवधिमा दर्ता भएका छन्। त्यस्तै, घरेलु हिंसासम्बन्धी १४९ उजुरी र ४९ ठाडो निवेदन परेकोमा घरेलु हिंसाका १३१ तथा ठाडो निवेदनमध्ये ३६ वटा मिलापत्रमार्फत टुंग्याइएको प्रहरीले जनाएको छ।

अपराध नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गरेको थियो। सो क्रममा मोटरसाइकल प्रयोग गरी सडकमा हिँडिरहेका सर्वसाधारणलाई लक्षित गर्दै लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।

फैसला कार्यान्वयनअन्तर्गत ३६० जना पक्राउ परेका छन्। उनीहरूबाट कुल दुई करोड २० लाख रुपैयाँ जरिवाना असुल गरिएको जानकारी दिइएको छ। चालु मुद्दाको सिलसिलामा ७०९ जनालाई पक्राउ गरिएकोमा ६३७ जना पुरुष रहेका छन्।

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार