काठमाडौं । विश्वमा अर्बपतिहरूको सम्पत्ति तीव्र गतिमा बढेको पाइएको छ । उनीहरूको सम्पत्ति बढेर १८.३ ट्रिलियन डलरको कीर्तिमानी उचाइमा पुगेको विश्वव्यापी परोपकारी संस्था अक्सफामले सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ ।
विश्वका अति धनीहरूले आफ्नै व्यक्तिगत लाभका लागि शक्ति संकेन्द्रणको खोजी गरिरहेका प्रतिवेदनमा उल्लेख छ ।
गत वर्ष अर्बपतिहरूको संख्या तीन हजार नाघेको र उनीहरूको कुल सम्पत्तिमा १६ प्रतिशत अर्थात् २।५ ट्रिलियन डलरले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा सन् २०२० यता अर्बपतिहरूको सम्पत्ति ८१ प्रतिशतले बढेको जनाइएको छ । अक्सफामले अहिलेको अवस्थालाई अर्बपतिहरूका लागि ‘उत्कृष्ट दशक’का रूपमा व्याख्या गरेको छ ।
धनीहरू झन् धनी भइरहँदा गरिबी निवारणको गति भने सुस्त भएको बताइएको छ । अहिले पनि गरिबीको स्तर करिब सन् २०१९ कै अवस्थामा पुगेको उल्लेख छ ।
अति धनीहरूले आफ्नो सम्पत्तिको प्रयोग राजनीतिक शक्ति र सञ्चारमाध्यममा कब्जा जमाउन प्रयत्न गरिरहेको प्रतिवेदनमा उल्लेख छ । अक्सफामले एलोन मस्कको सन् २०२५ को सुरुवातमै अमेरिकी प्रशासनमा संलग्नता, जेफ बेजोसको ‘द वासिङ्टन पोस्ट’मा स्वामित्व र भिन्सेन्ट बोलोरको फ्रान्सेली न्युज साइट खरिदलाई उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।
“अति धनीहरूले हाम्रा राजनीतिज्ञ, अर्थतन्त्र र सञ्चारमाध्यममा जमाएको अत्यधिक प्रभावले असमानतालाई झन् गहिरो बनाएको छ । र, हामीलाई गरिबी निवारणको लक्ष्यबाट धेरै टाढा पुर्याएको छ,” अक्सफामका कार्यकारी निर्देशक अमिताभ बेहारले भनेका छन् ।