अमेरिकी ट्रम्प प्रशासनद्वारा नेपालसहित ७५ देशका आप्रवासी भिसा अनिश्चितकालीन रुपमा रोक

काठमाण्डौ । अमेरिकी ट्रम्प प्रशासनले ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा (इमिग्रेन्ट भिसा) प्रक्रिया अनिश्चितकालीन रूपमा रोकेको घोषणा गरेको छ। यो निर्णय जनवरी २१ बाट लागू हुने बीबीसीले जनाएको छ। यो सूचिमा नेपाल पनि परेको छ ।

यो कदम अमेरिकामा कानुनी आप्रवासनलाई कडाइ गर्ने र अमेरिकी जनताको सार्वजनिक सुविधा तथा कल्याणकारी कार्यक्रमहरूको दुरुपयोग रोक्ने उद्देश्यले चालिएको बताइएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार, यो नीतिले “पब्लिक चार्ज” (सार्वजनिक खर्चमा निर्भर हुने) सम्भावना भएका विदेशी नागरिकहरूलाई रोक्ने लक्ष्य राखेको छ।

विदेश मन्त्रालयका प्रमुख प्रवक्ता टोमी पिगोटले भनेका छन्:”अमेरिकी जनताको उदारताको फाइदा उठाएर कल्याणकारी सुविधा तथा सार्वजनिक सहायतामा निर्भर हुने विदेशी नागरिकहरूको प्रवेश रोक्न विदेश मन्त्रालयले आफ्नो पुरानो अधिकार प्रयोग गर्दैछ।”

यो निर्णयसँगै यसअघि ब्राजिल, इरान, रुस र सोमालिया जस्ता देशका लागि भिसा प्रक्रिया रोकिएको थियो। त्यसपछि रुस, इरान, अफगानिस्तान लगायतका देशका नागरिकमाथि थप प्रतिबन्ध लगाइएको थियो।

नोभेम्बरमा वाशिङ्टन डिसीमा एक अफगान आप्रवासीले दुई राष्ट्रिय गार्ड सदस्यमाथि गोली हानेको घटनापछि १९ देशका नागरिक माथि प्रवेश प्रतिबन्ध वा सीमित गरिएको थियो। पछि यो सूचीमा थप ५ देश र प्यालेस्टाइन प्राधिकरणका कागजात प्रयोग गर्ने व्यक्तिहरू पनि समावेश गरिएका थिए।

यो नयाँ रोकले एसाइलम, नागरिकता प्रक्रिया र ग्रीन कार्ड आवेदनहरूमा पनि प्रभाव पार्ने देखिएको छ। यद्यपि, यो रोक पर्यटक, व्यापार जस्ता अस्थायी (नन-इमिग्रेन्ट) भिसाहरूमा भने लागू नहुने स्पष्ट पारिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार