विश्वका विलासी कार निर्माताहरू किन चम्किला गगनचुम्बी भवन बनाउन आकर्षित छन् ?

काठमाडौं । बुगाटी उच्च प्रदर्शन र अत्यन्तै महँगा सुपरकारहरूको पर्यायवाची ब्रान्ड हो। तर अहिले यो विलासी फ्रान्सेली ब्रान्ड एकदमै फरक प्रकारको प्रतिस्पर्धामा प्रवेश गर्दैछ – रेसट्र्याकमा होइन, सहरको आकाशरेखामा । संयुक्त अरब इमिरेट्सको दुबई सहरको मुटुमा बुगाटीले आफ्नो पहिलो आवासीय टावर निर्माण गरिरहेको छ । सबैभन्दा सस्ता अपार्टमेन्टहरूको मूल्य ५.२ मिलियन अमेरिकी डलर (३.९ मिलियन पाउन्ड) बाट सुरु हुने भएकाले, कम्पनी विश्वका अति धनी व्यक्तिहरूका लागि तीव्र रूपमा बढ्दै गएको बजार – ब्रान्डेड रेसिडेन्स – मा प्रवेश गरिरहेको छ।

पोर्शे र एस्टन मार्टिनजस्ता अन्य कार निर्माता कम्पनीहरू सहित धेरै विलासी ब्रान्डहरूले यस्ता परियोजना निर्माण गरिरहेका छन्। यस्ता भवनहरूमा प्रायः आकर्षक, पूर्ण रूपमा सजाइएका अपार्टमेन्ट हुन्छन्, जहाँ कम्पनीको ब्रान्ड नाम वा लोगो प्रमुख रूपमा र बारम्बार देखाइन्छ । यस क्षेत्रमा प्रवेश गरेका अन्य व्यवसायहरूमा स्विस घडी निर्माता ज्याकब एन्ड को र इटालियन फेसन हाउस फेन्डी र मिसोनी पनि पर्छन्। बुगाटीले आफ्नो ४३ तले दुबई टावर यूएईस्थित विकासकर्ता बिङ्घाटी प्रोपर्टिजसँग साझेदारीमा निर्माण गरिरहेको छ। ‘बुगाटी रेसिडेन्सेस बाइ बिङ्घाटी’ भवनका सबैभन्दा महँगा पेन्टहाउसहरूमा मालिकका कारहरूका लागि ठूला निजी लिफ्टहरू हुनेछन्, जसबाट कार सिधै अपार्टमेन्टभित्र पार्क गर्न सकिनेछ ।

बिङ्घाटी प्रोपर्टिजका अध्यक्ष मोहम्मद बिन्घाटी भन्छन्, “धेरै कार वा घडी पारखीहरूका लागि केवल सवारी साधन वा समयमापक स्वामित्वमा लिनु मात्र होइन, आफ्नो दैनिक जीवनमा रियल इस्टेटमार्फत ब्रान्डको अनुभव गर्नु पनि महत्वपूर्ण हुन्छ।” बिङ्घाटीका अनुसार, बुगाटी परियोजनाका खरिदकर्ताहरूको सूचीमा ब्राजिलियन फुटबल स्टार नेमार जुनियर र ओपेरा गायक आन्द्रेआ बोसेली पनि छन्। भनिन्छ, नेमारले एउटा पेन्टहाउसका लागि ५४ मिलियन डलर तिरेका छन् । रियल इस्टेट कम्पनी नाइट फ्र्याङ्कको नयाँ प्रतिवेदनअनुसार, पछिल्ला दुई वर्षमा ब्रान्डेड रेसिडेन्सप्रति विश्वव्यापी माग “तीव्र रूपमा बढेको” छ। प्रतिवेदनले सन् २०११ मा यस्ता १६९ योजना रहेकामा अहिले ६११ पुगेको र सन् २०३० सम्म १,०१९ पुग्ने अनुमान गरिएको छ।

हाल अमेरिकामा मियामी र न्युयोर्कका आकाशरेखामा केन्द्रित सबैभन्दा धेरै ब्रान्डेड अपार्टमेन्ट भवनहरू छन् । तर नाइट फ्र्याङ्कका अनुसार दोस्रो स्थानमा रहेको मध्यपूर्व क्षेत्रमा सबैभन्दा तीव्र वृद्धि भइरहेको छ । यो वृद्धि “मुख्यतः संयुक्त अरब इमिरेट्स र साउदी अरबमा तीव्र विस्तारका कारण” भएको बताइएको छ । नाइट फ्र्याङ्क मिडल इस्टका अनुसन्धान प्रमुख फैसल दुर्रानी भन्छन्, “ब्रान्डेड रेसिडेन्स विशेष गरी अत्यन्तै बलियो ब्रान्ड निष्ठा भएका व्यक्तिहरूलाई आकर्षित गर्छ – जो कुनै निश्चित ब्रान्डसँगै बाँच्न र सास फेर्न चाहन्छन् ।” अर्को सम्पत्ति कम्पनी साभिल्सको प्रतिवेदनअनुसार, विकासाधीन ब्रान्डेड रेसिडेन्स परियोजनाको संख्याका हिसाबले दुबई अहिले सहरगत रूपमा अग्रस्थानमा छ ।

यो अवस्था धेरै धनी व्यक्तिहरू दुबईमा बसाइँ सर्दै विलासी घरहरू किनिरहेका कारण बनेको बताइएको छ। दुर्रानी थप्छन् कि कम कर प्रणाली भएको दुबईमा ब्रान्डेड अपार्टमेन्टहरूको मूल्य प्रायः विश्वका अन्य सहरहरूभन्दा सस्तो हुन्छ। उनी भन्छन्, “न्युयोर्क र लन्डनजस्ता सहरहरूसँग तुलना गर्दा दुबईका यस्ता सम्पत्तिहरू अत्यन्तै किफायती छन्।” हालसम्म ब्रान्डेड रेसिडेन्स क्षेत्रमा फोर सिजन र रिट्ज–कार्लटनजस्ता होटल चेनहरूको प्रभुत्व थियो, तर अहिले विलासी उपभोक्ता ब्रान्डहरू यस क्षेत्रमा अग्रणी बन्दै गएका छन् । पोर्शे डिजाइन टावर मियामीमा सन् २०१७ मा खुलेको थियो भने एस्टन मार्टिन रेसिडेन्सेस मियामी गत वर्ष सञ्चालनमा आएको हो। त्यस्तै, यूएईको अल मरजान आइल्याण्डमा रहेको ज्याकब एन्ड कोको परियोजना सन् २०२७ मा तयार हुने अपेक्षा गरिएको छ ।

यस्ता कम्पनीहरूका लागि रियल इस्टेट नयाँ आम्दानीको स्रोत हो, जहाँ जोखिम तुलनात्मकरूपमा कम हुन्छ, किनकि निर्माण कार्य विकास साझेदारहरूले सम्हाल्छन् र खरिदकर्ताले ब्रान्डसँग जोडिएको सौन्दर्य र विशिष्टताका लागि अतिरिक्त मूल्य तिर्छन् । बिङ्घाटीका अनुसार, ब्रान्डेड अपार्टमेन्टहरू सामान्य विलासी घरहरूको तुलनामा प्रायः ३० देखि ४० प्रतिशतसम्म महँगा हुन्छन् । धेरै नयाँ ब्रान्डेड परियोजनाहरूमा निजी सदस्य क्लब, स्वास्थ्य तथा कल्याण सुविधा, र विशेष सेवाहरू हुन्छन् – चालकसहितको कार, याट पहुँचदेखि निजी जेट साझेदारीसम्म। अब साझा रुचि जस्तै ग्यास्ट्रोनोमी, स्वास्थ्य र दीर्घायु विज्ञानमा केन्द्रित नयाँ तहका ब्रान्डेड सम्पत्तिहरू पनि बजारमा ल्याइँदै छन्।

लन्डनमा निर्माण हुन लागेको सिक्स सेन्सेस रेसिडेन्सेस, बेसवाटरमा, बायोह्याकिङ केन्द्र समावेश हुनेछ। यहाँ क्रायोथेरापी ९अत्यधिक चिसो उपचार० जस्ता थेरापीहरू प्रदान गरिनेछ, जसलाई ऊर्जा बढाउने र छालाको रंग सुधार्ने भनेर प्रचार गरिन्छ । त्यसैगरी, टेक्सासमा डिस्कभरी ल्यान्ड कम्पनीको आगामी ‘अस्टिन सर्फ क्लब’ आवासीय परियोजना विशाल कृत्रिम सर्फ लगुन वरिपरि केन्द्रित हुनेछ। व्यवसाय र उपभोक्ता मनोविज्ञानका विज्ञहरूका अनुसार, विलासी ब्रान्डेड अपार्टमेन्टहरूको वृद्धि सामाजिक संकेत र विशिष्टताप्रतिको व्यापक चाहनाको प्रतिबिम्ब हो।

किङ्स कलेज लन्डनकी मार्केटिङ प्राध्यापक जियाना एकहार्ट भन्छिन्, यस्ता घरहरू दुर्लभ ह्यान्डब्याग वा ठूलो हिराको औँठीजस्तै नयाँ प्रकारको “सामाजिक हैसियतको मुद्रा” बनेका छन् । उपभोक्ता व्यवहार, ब्रान्डिङ र उपभोक्ता संस्कृतिमा विशेषज्ञता राख्ने एकहार्ट थप्छिन्, विलासी ब्रान्डहरूले “व्यक्तिको सामाजिक पदानुक्रममा रहेको स्थान” देखाउँछन्। उनी भन्छिन्, “मानिसहरू यस्ता ब्रान्डहरूसँग जोडिँदा प्राप्त हुने सामाजिक लाभ चाहन्छन् ।”

बिङ्घाटी पनि विशिष्टताकै कारण यस्ता परियोजनाहरू आकर्षक भएको बताउँछन्। “ग्राहकहरूले यहाँ उच्चतम स्तरको विशिष्टता प्राप्त गर्छन्। “प्रत्येक एकाइ अद्वितीय हुन्छ, जसले उनीहरूलाई संसारभरि एकमात्र प्रकारको अपार्टमेन्टको मालिक भएको विशेष अनुभूति दिन्छ।” तर बेलायतस्थित फर्म पर्न क्यान्डोलाका व्यावसायिक मनोवैज्ञानिक स्टुअर्ट डफ चेतावनी दिन्छन् कि धेरै मानिसलाई ब्रान्डेड अपार्टमेन्टको अवधारणा रुचिकर नलाग्न सक्छ, विशेष गरी यदि ब्रान्ड नाम अत्यधिक रूपमा देखाइएमा । उनी भन्छन्, “अपार्टमेन्ट ब्लकभरि ब्रान्डको उपस्थिति हुँदा दुर्लभता र विशिष्टताको अनुभूति घट्न सक्छ, र घमण्ड देखाउने जस्तो अनुभूति हुन सक्छ। सबैभन्दा खराब अवस्थामा, यसलाई भद्दा र अशोभनीय पनि ठान्न सकिन्छ।” बीबीसीबाट अनुवादित

प्रतिक्रिया
सम्बन्धित समाचार