काठमाडौं । इन्टरनेट बन्द गरेर इरानमा प्रदर्शनकारीमाथि व्यापक दमन गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानका २००० भन्दा धेरैको मृत्यु पछिल्लो ४८ घण्टामा भएको छ । तीनवटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले बीबीसीलाई बताएअनुसार देशभर जारी सरकारविरोधी प्रदर्शनका कारण अस्पतालहरू मृतक र घाइतेले भरिएका छन्।
तेहरानको एक अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार युवाहरूको टाउको र छातीमा सिधै गोली प्रहार गरिएको छ। राजधानीकै एक आँखा अस्पताल गम्भीर संकटको अवस्थामा पुगेको एक चिकित्सकले बताएका छन्। बीबीसीसँग कुरा गरेका दुई स्वास्थ्यकर्मीले जिउँदो गोली र पेलेट दुवैबाट लागेको गोलीका घाउको उपचार गरेको बताएका छन्। इरान इन्टरनेशनलका अनुसार पछिल्लो ४८ घण्टामा मात्रै २००० जनाभन्दा धेरैको ज्यान गएको रिपोर्ट आएको जनाएको छ ।
शुक्रबार अमेरिकाले प्रदर्शनकारीहरूको हत्या भएमा सैन्य प्रतिक्रिया हुन सक्ने चेतावनी दोहोर्याएको थियो। उता इरानले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक र विध्वंसात्मक बनाएको आरोप अमेरिकामाथि लगाएको छ। पछिल्ला घटनाक्रमप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इरान स्वतन्त्रतर्फ अघि बढिरहेको र अमेरिका सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन्।
यी प्रदर्शनहरू दुई साताअघि राजधानी तेहरानमा आर्थिक कठिनाइका कारण सुरु भएका थिए। त्यसयता प्रदर्शन देशभर फैलिँदै इरानका सबै प्रान्तका १०० भन्दा बढी सहर र गाउँमा पुगेका छन्। सयौँ प्रदर्शनकारी मारिएका वा घाइते भएका अनुमान गरिएको छ भने धेरैलाई पक्राउ गरिएको छ। बीबीसी पर्सियनले ६ जना बालबालिकासहित २६ जनाको पहिचान पुष्टि गरेको छ।