काठमाडौं । बंगलादेशमा युवा नेता उस्मान हादीको हत्यापछि चुनावपूर्व राजनीतिक हिंसा जारी छ ।
यसैक्रममा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को स्वयंसेवी शाखा स्वेच्छासेवक दलका नेता अजिजुर रहमान मुसब्बिरको मंगलबार राति हत्या गरिएको छ ।
डेली स्टारको रिपोर्टअनुसार बीएनपी स्वयंसेवक दलका महासचिव मुसब्बिरलाई ढाकाको कारवान बजारस्थित सुपर स्टार होटलनजिकै राति करिब साढे ८ बजे अज्ञात आक्रमणकारीले गोली हानी हत्या गरेका हुन् ।
ढाका महानगर प्रहरीका अतिरिक्त प्रहरी उपरीक्षक फजलुल करिमका अनुसार मुसब्बिरलाई पन्थपाठस्थित बीआरबी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
यसै आक्रमणमा तेजगाउँ थाना वन श्रमिक युनियनका महासचिव सुफियान मसुद घाइते भएका छन् । पार्टी सदस्यका अनुसार मुसब्बिर साँझ एक कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि मुसब्बिर र मसुद नजिकैको गल्लीमा जाँदै गर्दा दुई जनाले गोली चलाए । आक्रमणकारीहरू पैदलै भागेका थिए ।
घटनापछि स्थानीय बीएनपी कार्यकर्तासहितको समूहले सोनारगाँउ चोकनजिकै विरोध प्रदर्शन गरेका छन् ।