काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक इमरान खानविरुद्ध एकपछि अर्को मुद्दामा फैसला आउने क्रम जारी छ ।
शनिबार अर्को मुद्दामा उनलाई दोषी ठहर गर्दै १७ वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको संघीय अनुसन्धान संस्था (एफआईए)को विशेष अदालतले पूर्वप्रधानमन्त्री खान र उनकी पत्नी बुशरा बीबीलाई तोसाखाना (राष्ट्रिय ढुकुटी) दोस्रो प्रकरणमा दोषी ठहर १७/१७ वर्षको जेल सजाय सुनाएको हो ।
राष्ट्रिय ढुकुटीसम्बन्धी यो प्रकरण साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले सन् २०२१ मेमा पाकिस्तानको आधिकारिक भ्रमणका क्रममा खानलाई उपहारस्वरूप दिएको महँगो गहनासँग जोडिएको छ । खानले उक्त गहना अत्यन्तै कम मूल्यमा खरिद गरेको आरोप लगाइएको थियो ।
सुनुवाइका क्रममा करिब आठ करोड पाकिस्तानी रुपैयाँ मूल्यको गहना खानले सरकारी कोषबाट जम्मा २९ लाख तिरेर खरिद गरेको आरोप प्रस्तुत गरिएको थियो ।
विशेष अदालतका न्यायाधीश शाहरुख अर्जुमन्दले यो फैसला सुनाएका हुन् । मुद्दाको सुनुवाइ रावलपिण्डीस्थित अडियाला जेलमा गरिएको थियो । खान हाल त्यहाँ कैद छन् ।
फैसलाअनुसार, खानलाई पाकिस्तान पीनल कोडको दफा ३४ (खराब नियत) र दफा ४०९ (विश्वासको उल्लंघन) अन्तर्गत १० वर्षको कठोर कारावास सजाय सुनाइएको छ । सरकारी पदाधिकारीको हैसियत दुरुपयोग गरी अपराधजनक आचरण गरेको अभियोगमा थप सात वर्षको जेल सजाय सुनाइएको छ । बुशरा बीबीलाई पनि यी दुवै दफाअन्तर्गत १७ वर्षको जेल सजाय सुनाइएको छ ।
अदालतले खान र बुशरा बीबी दुवैलाई एक करोड ६० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ । जरिवाना नतिरेमा उनीहरूले थप समय जेलमा बस्नुपर्नेछ । फैसलापछि खान र बुशरा बीबीका कानुनी टोलीले यसविरुद्ध उच्च अदालतमा चुनौती दिने बताएका छन् ।
तोसाखाना प्रकरण के हो ?
पाकिस्तानको कानुनानुसार, विदेशी राष्ट्रका गन्यमान्य व्यक्तिहरूबाट प्राप्त कुनै पनि उपहार राष्ट्रिय ढुकुटी अर्थात् तोसाखानामा राख्नुपर्ने व्यवस्था छ । यदि, राज्यप्रमुख वा सरकारी अधिकारीले उक्त उपहार आफूसँग राख्न चाहेमा त्यसको मूल्यबराबरको रकम भुक्तानी गर्नुपर्छ । उपहारको मूल्य लिलामी प्रक्रियामार्फत निर्धारण गरिन्छ ।
तोसाखानामा जम्मा गरिएका उपहार त्यहीँ सुरक्षित राखिन्छ वा लिलामी गरिन्छन् । र, त्यसबाट प्राप्त रकम राष्ट्रिय कोषमा जम्मा गरिन्छ ।
सन् २०१८ मा सत्तामा आएका इमरान खानले विभिन्न आधिकारिक विदेश भ्रमणका क्रममा करिब १४ करोड पाकिस्तानी रुपैयाँबराबरका ५८ उपहार प्राप्त गरेका थिए । ती महँगो उपहार सुरुमा तोसाखानामा जम्मा गरिएको थियो । पछि खानले ती उपहार निकै सस्तो मूल्यमा तोसाखानाबाट खरिद गरी बजारमा महँगो मूल्यमा बिक्री गरेको आरोप छ ।
यो सम्पूर्ण प्रक्रियालाई सहज बनाउन उनले सरकारी नियम–कानुनमै परिवर्तन गरेको आरोप पनि लगाइएको छ । मिडिया रिपोर्टअनुसार, खानले ती उपहार दुई करोड १५ लाख पाकिस्तानी रुपैयाँमा तोसाखानाबाट खरिद गरेका थिए । बिक्री गरेर उनले करिब पाँच करोड ८० लाख पाकिस्तानी रुपैयाँ नाफा कमाएका थिए ।
ती उपहारमा ग्राफ घडी, कफलिंकको जोडा, महँगो कलम, औँठी तथा चार रोलेक्स घडी समावेश थिए । बीबीसीबाट