इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं– हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्तानगञ्ज २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ।

सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो। सूचनामा यो सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता तोडिएको उल्लेख छ।

सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २०७८मा ५२ करोड ७० लाख रुपैयाँमा (करसहित)ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार सडक निर्माण साउन २०८१ भित्र सम्पन्न गर्नुपर्नेमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ।

ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटक-पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यालय इटहरीले जनाएको छ।

ठेक्का सम्झौता रद्द गरिएका निर्माण व्यवसायीकाे कार्य सम्पादन जमानत बापतको १६ करोड ९४ लाख र पेस्की २ करोड ३१ लाख १ करोड ७१ लाख रुपैयाँ जफत गरिने छ। पेस्की रकममा १० प्रतिशत व्याजसहित असुल हुनेछ। निर्माण व्यवसायीले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेको थियो।

योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो। निर्माण व्यवसायीबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार