इजरायललाई इरानले चेतावनी दिंदै भन्यो – ‘कठोर र पीडादायी नियती भोग्न अब तयार रहनू

काठमाडौं – इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले इजरायली आक्रमणको जबाफ दिने बताएका छन्।

शुक्रबार बिहान इजरायलले इरानमाथि ब्यालिस्टिक मिसाइल र ड्रोन हमला गरेपछि खामेनीले त्यसको जबाफ दिने बताएका हुन्।

उनले इरानले दिने जबाफ कडा र कठोर हुने चेतावनी दिएका छन्।

‘यो अपराधका साथ यहूदी शासकले आफूलाई तीतो र पीडादायी भाग्यको लागि तयार पारेको छ र उसले यसको परिणाम भोग्ने निश्चित छ,’ खामेनीले भनेका छन्।

इरानमा आक्रमण गरेपछि इसराइलले देशभरि आपतकाल घोषणा गरेको छ।

इसराइलले इरानको सम्भावित जबाफको पूर्वतयारीस्वरूप देशव्यापी आपतकाल घोषणा गरेको हो। विद्यालय बन्ददेखि अस्पतालमा समेत बहिरंगबाहेकका सेवा बन्द गर्न निर्देशन दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मानिसहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ भने भेला गर्न पनि रोक लगाइएको छ। साथै सेनालाई पनि तयार रहन भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार