मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग सिधा शान्ति वार्ता गर्न प्रस्ताव गरेका छन्। उनले १५ मे भन्दा अघि नै वार्ता गर्नु उपयुक्त हुनेसमेत बताएका छन्। ‘हामी गम्भीर वार्ता गर्न चाहन्छौँ। अहिलेको द्वन्द्वको जरो पहिचान गरेर स्थायी शान्तिको बाटोमा जान चाहन्छौँ,’ शनिबार टेलिभिजन सम्बोधनमा पुटिनले भने।
बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों युक्रेन भ्रमणमा पुगेर रुसलाई ३० दिने युद्ध विराम तत्काल लागु गर्न भने पछि पुटिनको सो अभिव्यक्ति आएको हो। यसपछि मस्कोले प्रेस विज्ञप्ति जारी गर्दै यो सोचनीय विषय भए पनि अनावश्यक दबाब उपयुक्त नहुने चेतावनी दिएको थियो।
पुटिनले वार्ताका सबै ढोका खुला राखेको बताए। उनले स्थायी समाधान निकाल्नका लागि टर्कीको इस्तानबुलमा वार्ता उपयुक्त हुने बताएका छन्। पुटिनले यसको बारे आइतबार टर्कीका राष्ट्रपति रेकेब तैयाब अर्डोगानसँग पनि सल्लाह गर्ने छन्।
पुटिनले युक्रेनको तटस्थता र विवादित क्षेत्रहरूबाट फौज फिर्ता गर्ने जस्ता शर्तहरू राखेका छन्। यद्यपि, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले यस्ता वार्तामा सहभागी हुन इच्छुक भए पनि, यस्ता वार्तामा चार पक्षीय सहभागिता आवश्यक रहेको बताएका छन्, जसमा युक्रेन, रूस, अमेरिका र युरोपेली संघको समावेशीकरण हुनुपर्ने उनको भनाइ छ ।