काठमाडौं । इरानसँगको १५ घण्टाको वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले संक्षिप्त सम्बोधन गरेका छन् । अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भान्सले निकै लचकताका साथ वार्तामा प्रस्तुत भइरहेको प्रतिक्रिया जनाएका हुन् ।
धेरै मुद्दामा छलफल भए पनि मुख्य लक्ष्य भनेको इरानी परमाणु कार्यक्रम रोक्नु रहेको उनले बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई त्यसैका लागि इस्लामाबाद पठाएको उनको भनाइ छ । अमेरिका इरानलाई आफ्ना सर्त बलपूर्वक लाद्ने परिस्थितिमा नरहेको उनले बताएका छन् । “हामीले धेरै मुद्दाहरूमा छलफल गर्यौँ । हामी इरानलाई हाम्रा सर्त लाद्ने गरी मात्रै प्रस्तुत भइरहेका छैनौँ । हामी लचकताका साथ वार्ता गरिरहेका छौँ,” उनको भनाइ उद्दृत गर्दै बीबीसीले जनाएको छ ।
इरानको परमाणु सम्वर्द्धन कार्यक्रम स्थगित गर्नु वार्ताको मुख्य लक्ष्य रहेको भान्सको भनाइ छ । पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा त्रिपक्षीय वार्ता जारी छ ।
शुत्रताको आधा शताबन्दीपछि इरान र अमेरिकाबीच पाकिस्तानमा १५ घण्टा लामो वार्ता भएको छ । दुई मुलुुकका प्रतिनिधिबीच रातभर वार्ता भएको हो । आर्थिक, सैन्य, कानुनी र परमाणु विषयमा दुई पक्षका विज्ञबीच छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इरान र अमेरिकाबीच सन् १९७९ देखि शत्रुतापूर्ण सम्बन्ध कायम भएको थियो ।
युद्धमा रहेका यी दुई मुलुकबीचको संवाद नै महत्त्वपूर्ण मानिएको छ । सन् २०१५ मा इरान र अमेरिकाबीच परमाणु सहमतिका लागि १८ महिना लागेको थियो । ट्रम्प अहिले तत्कालै नतिजाको पक्षमा छन् । इस्लामाबाद शनिबार राति दुवै पक्षलाई वार्ता लम्ब्याउन भनेको थियो । अमेरिकाले त्यसमा सहमति जनाएको थिएन ।
वार्ताबाट हालसम्म कुनै परिणाम आएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले परिणाम जस्तोसुकै आए पनि अमेरिकाको विजय भइसकेको बताएका छन् । “परिणाम जेसुकै होस् अमेरिकाले जितिसक्यो । इरानले नराम्रो पराजय व्यहोर्यो,” उनले भनेका छन् ।
इरानले अमेरिकाले अत्यधिक सर्त राखेको प्रतिक्रिया दिएको छ । वार्ता घनीभूत भए पनि अमेरिकाका धेरै सर्तका कारण परिणामउन्मुख नभइरहेको इरानी प्रतिक्रिया छ । इरानी विदेश मन्त्रालयले भनेको छ, “अमेरिकाका गैरकानुनी र अत्यधिक माग छन् । वार्ताको परिणामका लागि अमेरिकी असल नियमत र गम्भीरता आवश्यक छ,” इरानको विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ । इरानी प्रतिबन्धित सम्पत्ति फुकुवाबारे पनि छलफल भएको भान्सले बताएका छन् । एजेन्सीको सहयोगमा