काठमाडौँ । अमेरिका र ईरानबीच चलिरहेको सैन्य टकरावले अमेरिकी अर्थतन्त्रमा ठूलो वित्तीय भार थपिरहेको देखिएको छ। अमेरिकी सञ्चारमाध्यमहरूको रिपोर्टअनुसार, युद्ध सुरु भएको केवल ६ दिनमै पेन्टागनले सांसदहरूलाई जानकारी गराउँदा कुल खर्च ११।३ अर्ब अमेरिकी डलर नाघिसकेको उल्लेख गरिएको छ।
उक्त द्वन्द्वमा ठूलो मात्रामा टमाहक मिसाइल प्रयोग गरिएको जनाइएको छ। प्रत्येक मिसाइलको लागत करिब ३।५ मिलियन अमेरिकी डलर पर्ने भएकाले मात्रै पनि खर्च तीव्र रूपमा बढेको अनुमान गरिएको छ।
युद्ध लम्बिँदै जाँदा दैनिक खर्चमा केही उतारचढाव देखिए पनि समग्र खर्च अझै उच्च स्तरमै रहेको छ। अमेरिकी अधिकारीहरूले ईरानको रक्षा क्षमता कमजोर हुँदै जाँदा केही खर्च घटेको दाबी गरेका छन्। तर रक्षा विश्लेषकहरूका अनुसार हाल पनि दैनिक झण्डै ३८५ मिलियन अमेरिकी डलर खर्च भइरहेको अनुमान छ।
यसैबीच, अमेरिकी रक्षा विभागले ईरानबाट हुने ड्रोन र मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको जनाएको छ, जसलाई उनीहरूले रणनीतिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्।
यद्यपि, विशेषज्ञहरूले चेतावनी दिँदै भनेका छन् कि यदि युद्ध अझ लम्बियो भने यसको आर्थिक, सैन्य र कूटनीतिक प्रभाव अझ गहिरिँदै जाने सम्भावना छ।