काठमाडौं । इजरायलको ‘मागेन डेभिड अडोम’ आपत्कालीन सेवाले आइतबार साँझ अरादमा भएको मिसाइल आक्रमणबारे अर्को अपडेट जारी गरेको छ । आपत्कालीन सेवाका अनुसार, अराद सहरमा ८८ जना घाइते भई अस्पताल भर्ना भएका छन् । उपचार गराइरहेका ८८ मध्ये १० जना गम्भीर, १९ मध्यम र ५९ जना सामान्य घाइते रहेका छन् ।
मिसाइलहरूले इजरायलको रक्षा प्रणाली भेदेर अरादमा प्रहार गरेका हुन् । इजरायलले इरानमाथिको आक्रमण यस हप्ता उल्लेख्य रूपमा बढ्ने चेतावनी दिएको छ । यसैबीच नजिकैको डिमोना सहरमा इरानले क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा ४७ जना घाइते भएका छन् ।
इजरायली सेनाले डिमोनामा प्रहार भएको एउटा मिसाइललाई रोक्न असफल भएको स्वीकार गरेको छ । उक्त मिसाइल देशको आणविक कार्यक्रमको केन्द्र मानिने स्थानमा खस्दा मानिसहरू घाइते हुनुका साथै एउटा सानो भवन ध्वस्त भएको छ ।
यस आक्रमणको मुख्य निसाना करिब १३ किलोमिटर टाढा रहेको एक आणविक केन्द्र रहेको बताइएको छ । दुवै आक्रमणमा घरको संरचनाहरूमा व्यापक क्षति भएको बीबीसीले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस घटनालाई सहरका लागि अत्यन्तै कठिन साँझ भएको बताएका छन् ।
नेतन्याहूद्वारा अराद आक्रमणपछि रक्षा प्रणाली बलियो बनाउने प्रतिबद्धता
इजरायली प्रधानमन्त्री नेतन्याहले अरादका मेयरसँग कुराकानी गरेको बताएका छन् । नेतन्याहूले एक्समा लेख्दै अहिले मैदानमा खटिएका आपत्कालीन र उद्धार टोलीहरूलाई थप सुदृढ बनाउने बताएका छन् । साथै, उनले देशभरका मानिसहरूलाई सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेका छन् ।
इजरायलभर भौतिक कक्षाहरू स्थगित
इजरायलका शिक्षामन्त्री योभ किशले आइतबार र सोमबारका लागि तय गरिएका सबै भौतिक कक्षाहरू रद्द गरिएको जानकारी दिएका छन् । उनले एक्समा लेख्दै शनिबार साँझ डिमोना र अरादमा भएका मिसाइल आक्रमणहरूलाई ध्यानमा राख्दै आगामी दुई दिनसम्म प्रत्यक्ष सिकाइ नहुने बताएका छन् । यसमा विशेष शिक्षाका कक्षाहरू पनि समावेश छन् ।